९ श्रावण २०७३, आईतवार

दाङमा आर्थिक वर्ष २०७२÷०७३ मा आएको विकास बजेटको ४० प्रतिशत रकम असार महिनाको अन्तिममा खर्च भएको छ । असार महिनामा मात्रै झण्डै २ अरव ३४ करोड बजेट खर्च भएको हो । कुल बजेटको सरदरमा ८९ दशमलव ८ प्रतिशत बजेट खर्च भएको छ भने ११ दशमलव २ प्रतिशत बजेट खर्च हुन सकेन ।


कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार जिल्लामा रहेका ७८ सरकारी कार्यालयमा विनियोजन गरिएको रकम ८ अरव ७४ करोड ९२ लाख ९० हजार १ सय ५६ रुपैयामा आर्थिक वर्षको अन्त्य असार महिनामा मात्रै २ अर्व ३३ करोड ७३ लाख ३० हजार ३ सय ४० रुपैया खर्च गरिएको छ । कोष नियन्त्रक सुकदेवप्रसाद बाँस्कोटाले असार लागेपछि जिल्लामा धेरै रकम खर्च भएको बताउनु भयो । असार महिनामा मात्रै पुँजीगत बजेट तर्फको १ अरव ८३ करोड ६८ लाख ९९ हजार ५ सय ८५ रुपैया खर्च गरिएको छ भने चालु तर्फको ५० करोड ४ लाख ३० हजार ७ सय ५४ रुपैया खर्च गरिएको प्रमुख कोष नियन्त्रक बाँस्कोटाले जानकारी दिनु भयो । उहाँले यस वर्ष दाङमा ८० करोड ४७ लाख रुपैया खर्च नभएर फर्किएको बताउनु भयो । गत वर्ष भन्दा फ्रिज भएको यो रकम ३१ करोड ले वढी हो । आर्थिक वर्ष २०७१÷०७२मा ५९ करोड रुपैया मात्र फ्रिज भएको थियो । यसैबीच दाङ जिल्लामा सरकारी कार्यालयहरुको गत आर्थिक वर्षको तुलनामा यस आर्थिक बर्षमा राजश्व बढेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा २४ दशमलव ७ प्रतिशतले राजश्व वृद्धी भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ ।

LIVE TV