८ श्रावण २०७३, शनिबार

आठ दिनको प्रतियोगिता चार दिनमा झारियो । किनभने पुरुष टोलीको प्रशिक्षणमा असर पर्ने देखिदा महिलाहरुको तयारीका लागि चार दिन पनि काफी देखियो । नेपाली पुरुष र महिला क्रिकेट टोली यतिखेर क्रिकेटको दुई ठूलो प्रतियोगिताको तयारीमा छन् । तर पुरुषहरुको प्रतियोगितालाई महत्व दिइदा महिलाहरुको प्रतियोगितालाई भने हेपिएको गुनासो चर्को बनेको छ । त्यसैले यहाँ पनि लैंगिक विभेदको प्रश्नले स्थान पाएको चर्चा हुन थालेको छ ।


शनिबारबाट महिला राष्ट्रिय छनौट प्रतियोगिता सुरु भयो काडमाडौको कीर्तिपुर स्थित टियु मैदानमा । यहि मैदान हो जहाँ आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीपमा भाग लिने नेपाली खेलाडीहरुको अभ्यास हुने गर्छ । महिला क्रिकेट प्रतियोगिताको अवधि भने चार दिनको रहेको छ । विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आगामी साउन २९ र ३१ गते नेदरल्याण्ड्सविरुद्ध हुने खेलको तयारीका लागी नेपाली टोलीको अभ्यास बाँकी नै छ । जसले गर्दा ८ दिन लाग्ने महिला छनोट प्रतियोगितालाई चारमा दिनमा छोट्याइएको छ । यहि कारणले गर्दा महिला खेलाडीहरुले शतप्रतिशत नतिजाका लागि खेल्न नसक्ने गुनासो गरेका छन् । हङकङमा हुने महिला विश्वकपको छनोटका लागि खेलाडी छनोट गर्न आयोजित यस प्रतियोगिताका लागि क्रिकेट सरोकारवाला पक्षहरुबाटै नै पक्षपात भएको अनुभव गर्नु परेको महिला राष्ट्रिय टिमका कप्तान रुविना क्षेत्रीको गुनासो छ ।
शनिबारबाट सुरु भएको महिला राष्ट्रिय छनौट प्रतियोगीतामा भने सशस्त्र प्रहरीको एपिएफले मध्यमाञ्चललाई ६ विकेटले पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा पुर्वाञ्चलले पश्चिमाञ्चललाई नौ विकेटले पराजित गरेको छ । शनिबारको खेलमा पुर्वाञ्चलकी सन्तोषी चौधरी र एपिइफकी सरितामगर विमेन अफ द म्याच घोषित भएका थिए । राम्रोसग खेल्ने र प्रतियोगीताहरु पुरुष सरह भए महिलाले पनि क्रिकेटमा केहि गरेर देखाउन सक्ने विश्वास रुविनाको छ ।
नेपाल क्रिकेट संघ क्यान निलम्बित अवस्थामा रहदा राष्ट्रिय खेलकुद परिषदको अग्रसरतामा यस महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो । तर परिषद्ले समेत महिला टोलीको लागि पर्याप्त समय नदिनु भने आश्चर्यको पक्ष बनेको छ ।

LIVE TV