७ श्रावण २०७३, शुक्रबार

निजी क्षेत्रको बैंक मेगा बैंकले मुलुकको सङ्घीय संरचनाअनुसार नै कारोबार गर्ने घोषणा गरेको छ । यहाँ आज आयोजित छैटाँै वार्षिकोत्सवका अवसरमा बैंकले सो घोषणा गरेको छ ।

नेपालको संविधानअनुसार मुलुक सात प्रदेशमा विभाजन भएकाले सोहीअनुसार नै बैंकको गतिविधिलाई पनि अगाडि बढाउने योजना रहेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो ।

यस्तै बैंकले मर्जरलाई प्राथमिकता दिने वा हकप्रद सेयर जारी गरेर नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पुँजी पु¥याउने जानकारी दिइयो । गत वैशाखमा बुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल विकास बैंकलाई मर्जरमा ल्याएको मेगाले अन्य बैंक तथा वित्तीय संस्थासँग पनि छलफल भइरहेको जनाएको छ ।

मुलुक बाहिर संयुक्त लगानीमा कारोबारको प्रारम्भ, क्षेत्रीयस्तरमा कार्यालय विस्तार तथा ग्रामीण क्षेत्रमा बैंकिङ पहुँचलाई विस्तार गर्ने कार्यमा बैंक केन्द्रित हुने अध्यक्ष शाहको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले कुल चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । त्यसका लागि औपचारिक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उहाँले राष्ट्र बैंकको नियमानुसार संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गरिएको बताउनुभयो ।

बैंकले गत आवमा अछाम र डडेल्धुरामा शाखा विस्तार गरेको छ भने बैंकिङ सेवा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक सेवासहितको शाखा विस्तार गर्ने जनाएको छ । बैंकले गत आवमा निक्षेप सङ्कलन रु १० अर्ब बढेर रु ३१ अर्ब पुगेको छ ।

यसैगरी, कर्जा प्रवाह पनि करिब रु १० अर्ब बढेको छ । गत आवमा कर्जा प्रवाह रु १८ अर्बबाट बढेर रु २८ अर्ब पुगेको हो । ग्राहक सङ्ख्या पनि झन्डै एक लाख बढेको बैंकले जनाएको छ । बैंकको ४४ वटा शाखा र ४५ वटा एटिएम सञ्जाल रहेको छ भने मुलुकका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको छ । रासस

LIVE TV