७ श्रावण २०७३, शुक्रबार

भोजपुरको पुर्वी चरम्बी ३ की रानीमाया राईका गाला पुरै चाउरीसकेका छन् । उमेरले ६ दशक नाघिसकेको छ । जोस र जागर भने दिनदिनै नयाँ पालुवा झै पलाइरहेका छन् । विहान उठेदेखि तानमा कपडा बुन्न व्यस्त बन्ने रानीमायालाई कतिबेला रात पर्छ थाहा पत्तो हुँदैन ।


छरछिमेकी सबैले छोडिसकेको कोकटी व्यवसायको संरक्षण र प्रवद्र्धनका लागि रानीमाया दिनरात खटिरहेकी छिन् । बाजे बराजुको पालामा हात बसिसकेको सिप बाँचुन्जेल गर्ने र अरुलाई सिकाउने उनको धोको रहेको छ । पछिल्लो समय युवापुस्ताले चासो नदिएपछि संकटमा परेको कोकटी खेती तथा घरेलु कपडा उद्योग संरक्षण र प्रवद्र्धनका लागि रानीमायाको योगदान यतिबेला उदाहरणीय बनेको छ । भोजपुरका आदिवासी जनजातिहरुको पहिचान बोकेको कोकटी व्यवसाय संकटमा परेपछि उजागरका लागि युवती र महिलाहरुलाई नमुना देखाउदै निशुल्क तालिम दिदै आएकी छिन् । विदेशी आयातित तयारी लत्ताकपडाले गर्दा स्थानीय उत्पादनमा धक्का पुगेको तथा मौलिक सिप र संस्कृति लोप हुदै गएको छ ।
भोजपुरको पुर्वी जरायोटार, चरम्बी, याकु लगायतका गाविसमा १० बर्षअघिसम्म घरैपिच्छे अगालेको यो पेशा पछिल्लो समय आधुनिकता संगै मासिन थालेको छ । कोकटीबाट उत्पादन भएका तयारी लत्ताकपडा विदेशका बेलायत, ब्रुनाई, हङ्गंकंङ्गबाट माग हुने गरेको छ । एक सेट दौरा सुरवाल २० देखि २५ हजारसम्म विक्री हुने गरेको छ । कोकटीबाट हाते उद्योग जसरी घरैमा बसि महंगो मुल्यका राडीपाखी, लत्ताकपडा तयार गर्न सकिन्छ । १५ देखि २० केजी कोकटीबाट मासिक ८० हजारसम्म आम्दानी लिन सकिने रानीमायाले दावी गरेकी छिन् ।
ईश्वरले रंगाएको रंगको रुपमा लिइने कोकटीलाई स्थानीय भाषामा ज्यापु भन्ने चलन छ । राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको समयमा कोकटी तथा कपासबाट बनेको कपडा लगाएर युद्ध लडेका कारण यो व्यवसायले ऐतिहासिक महत्व बोकेको छ ।

LIVE TV