६ श्रावण २०७३, बिहीबार

चितवनको भरतपुरमा विना दर्ता सञ्चालनमा रहेको अबैध बालगृहबाट सात बालिकाको उद्धार गरिएको छ । स्थानीय प्रशासनको निर्देशन समेत अटेर गरि कानुन विपरित सञ्चालन गरिएको पिस नेपाल नामक बालगृहमा रहेका सात बालिकालाई उद्धार गरी अहिले आदर्श गृह चितवनमा राखिएको छ ।


चितवन प्रशासन कार्यालय, प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयको संयुक्त टोलीले बालिकाहरुलाई उद्धार गरि अहिले आदर्श गृहमा राखिएको महिला तथा बालबालिका कार्यालय चितवनका वाल संरक्षण अधिकृत महेशराज पौडेलले जानकारी दिनुभयो । स्थानीय सुनिता लोहनीको घरमा भाडा लिएर यसरी अबैध बालगृह सञ्चालन भएको पाईएको हो । उद्धार गरिएका बालिकामा चितवनको सिद्धीका १० बर्षिया सरिता चेपाङ र ११ बर्षकी सोनी चेपाङ, हुम्लाका ११ बर्षकी रुपा रावत, पारशी बुमी रणशोभा रावत, नवलपरासीकी ९ बर्षकी अस्मिता सुनार र ९ बर्षकै प्रसस्ती सुनार रहेका छन् ।

ती बालिकाहरु चितवन मावीमा कक्षा १ देखि ३ कक्षासम्म पढ्दै आएका छन् । उनीहरुलाई आदर्श गृहबाटै पठनपाठनको व्यवस्था गरिने गृहकी मिना खरेलले बताउनुभयो । यसअघि मंगलबार बालगृहका सञ्चालक प्रतिक सुनारलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही थालेको छ । उनले साईनबोर्ड समेत नराखी बालगृह सञ्चालन गर्दै आएका थिए । नियमानुसार दर्ता गरी बोर्ड समेत राख्नुपर्ने र बाहिरी जिल्लाका बालबालिका ल्याउँदा अनुमती लिनुपर्ने कानूनी प्रावधान छ । तर उनले कुनै प्रक्रिया पुरा नगरेकोले उद्धार गरिएको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले बताउँनुभयो ।

भरतपुर उपमहानगरपालिकाको वडा नं. १० मा अवस्थित ढुंगानाचोकमा रहेको उक्त बालगृहमा बालिकाहरुलाई जबर्जस्ती धर्म परिवर्तन गर्न लगाएको केही स्थानीयहरुले आरोप लगाएका छन् । उक्त बालगृहमा पटकपटक अनुगमन गर्दा बालिकाहरुलाई क्रिश्चियन धर्मको प्रचारमा सहभागी गराइएको, क्षमता भन्दाबढी बालबालिका राख्ने गरेको र बालबालिकालाई पोषणको अभाव भएको पाईएको थियो । चितवन जिल्लामा अहिले ३२ बालगृह सञ्चालनमा रहेको प्रशासन कार्यलयले जनाएको छ ।

LIVE TV