६ श्रावण २०७३, बिहीबार

आर्थिक बर्ष २०७२÷०७३ मा पनि धेरै जिल्लामा बजेट फ्रिज भएको छ । अन्तिम समयमा आएर विकास निर्माणको तयारी जुट्ने र दलीय भागवण्डालाई आधार मान्ने पुरानो प्रवृतिले लमजुङ र चितवनमा पनि करोडौ रकम फ्रिज भएको छ ।


आर्थिक बर्ष २०७२÷०७३ मा लमजुङबाट २८ करोड ८२ लाख ७५ हजार रुपैयाँ बजेट सरकारलाई नै फिर्ता गएको छ । जिल्लाका विभिन्न ४९ वटा सरकारी कार्यालयमा आएको कुल बजेटबाट उक्त रकम फिर्ता गएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार उक्त आर्थिक बर्ष लमजुङका सबै सरकारी कार्यालयमा गरी २ अर्ब ९७ करोड १९ लाख ५ हजार रुपैयाँ बजेट आएको थियो । उक्त बजेटबाट लमजुङमा २ अर्ब ६८ करोड ३६ लाख ३० हजार रुपैयाँ मात्र खर्च भएको छ ।
यसैगरी चितवनमा यसबर्ष १ अर्ब ८९ करोड ७१ लाख ७७ हजार ७९० रुपैयाँ बजेट फ्रिज भएको छ । जिल्लाका विभिन्न ८३ वटा कार्यालयमा आएको चालु र पुँजिगत गरी सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख नारायणदत्त शर्माका अनुसार जिल्लामा आर्थिक बर्ष २०७२÷७३ का लागि रु १० अर्ब ७७ करोड ९७ लाख ५९ हजार ६२१ रुपैयाँ बजेट आएको थियो । तुलनात्मक रुपमा चितवनमा आएको बजेट खर्चको अनुपातलाई हेर्दा विगतको भन्दा सन्तोषजनक रहेको प्रमुख शर्माले बताउनुभयो ।
चितवन जिल्लामा आएको बजेट मध्ये सबैभन्दा बढी बजेट परेको मुग्लीन नारायणगढ सडकखण्ड आयोजनाले आर्थिक बर्ष २०७२÷७३ मा जम्मा ४२ प्रतिशत रकम खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार १ अर्ब ७६ करोड ८८ लाख ५२ हजार बजेट परेकोमा सडक आयोजनाले जम्मा ७४ करोड ५९ लाख ५९ हजार १४३ रुपैयाँ मात्रै खर्च गरेको प्रमुख शर्माले बताउनुभयो ।

LIVE TV