४ श्रावण २०७३, मंगलवार

नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मेरिलेबोन क्रिकेट क्लब ९एमसिसी० सामु २१८ रनको चुनौती पेस गरेको छ ।

इङ्ग्ल्यान्डको लन्डनस्थित लर्डस क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाउन सक्यो । चौथो ओभरको सुरुवातीमै ओपनर अनिल मण्डललाई व्यक्तिगत दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३९ रन बनाउँदै पारी सम्हाले । त्यस्तै कप्तान पारस खड्काले ३० शरद भेषावकरले २७, सागर पुनले २६, अविजित रहेका वसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको हो । त्यसैगरी विनोद भण्डारीले नौ रन बनाएका थिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डस्मा नेपाली टोलीले त्यहाँको घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।

मेरिलेबोनको निम्तोमा करिब साताअघि इङ्ल्यान्ड गएको नेपाली टोलीले मैत्रीपूर्ण खेलको तयारीस्वरूप लन्डनमा चारवटा अभ्यास खेल खेलेको थियो र सबैमा जित निकालेको थियो । लर्डस् क्रिकेट मैदानलाई कतिपयले ‘क्रिकेटको मक्का’समेत भन्ने गरेका छन् ।

जारी खेलमा दुवै टोलीका खेलाडीले टेष्ट खेल्दा लगाउने सेतो जर्सी लगाएका छन् । नेपाली खेलाडीलाई हौसला बढाउन पाँच हजारौँ दर्शक राष्ट्रिय झन्डा र क्रिकेट जर्सीसहित उपस्थित भएका छन् । करिब पाँच हजार दर्शकले अनलाइनका माध्यमबाट टिकट काटेको बताइएको छ । अबको केहीबेरपछि मेरिलेबोनको ब्याटिङ सुरु हुँदैछ । रासस

LIVE TV