
काठमाडौँ, साउन । पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले आज राष्ट्रकवि माधव घिमिरेलाई यस वर्षको ‘यात्री वाङ्मय पुरस्कार’समर्पण गरेको छ ।
रु ५१ हजार र सम्मानपत्र सहितको सो पुरस्कार उहाँलाई नेपाली पद्य कवितालाई उचाइमा पु¥याएबापत प्रदान गरिएको हो । यात्रीले करिब १२ वर्षका अवधिमा नेपालका चार गाविस बाहेक सबै ठाउँ भ्रमण गरी नेपाली इतिहास, संस्कृति र साहित्यमा योगदान गर्नुभएको थियो । उहाँका ११९ कृति प्रकाशित छन् । उहाँको सबभन्दा ठूलो कृति ‘सिंजापति बाला’महाकाव्य हो । उहाँको जन्म विसं १९९१ साउन ३ गते भोजपुर कटुन्जेमा र निधन विसं २०६९ पुस ५ गते काठमाडौँमा भएको थियो । विसं केन्द्रले यसअघि सिंजामित्र समूहबाट काम गर्दै आएको थियो ।
पुरस्कार ग्रहण गर्दै राष्ट्रकवि घिमिरेले इन्द्रेणीस्वरुप रहेको नेपालले विश्वमा आफ्नो मौलिक परिचय दिनुपर्ने बताउनुभयो । उहाँले रसलाई अलङ्कार र ध्वनिबाट प्रकट गर्न सकेमा साहित्य उत्कृष्ट हुने विचार पनि व्यक्त गर्नुभयो । राष्ट्रकविले दिव्यपुरुष यात्रीबाट सबैले प्रेरणा लिनुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा साहित्यकार तथा नेकपा(एमाले)का नेता प्रदीप नेपालले यात्रीका बाँकी कृति र सामग्री प्रकाशन गर्न केन्द्रलाई सुझाव दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यात्रीले दिनुभएका सामग्रीलाई अहिलेको सन्दर्भमा कसरी उपयोग गर्ने भन्ने सोच राख्नुपर्ने बताउनुभयो । केन्द्रका अध्यक्ष डा शैलेन्दुप्रकाश नेपालले आफ्ना पिताजीको स्मृतिग्रन्थ र उहाँले सम्पादन गर्नुभएको ‘हिमाली सौगात’पत्रिका प्रकाशन गरिने तथा लेखकहरुलाई केन्द्रबाट विद्वत्वृत्ति प्रदान गर्ने जानकारी दिनुभयो । केन्द्रका उपाध्यक्ष मधुसूदन पाण्डेयले आफूहरुले यसअघि यात्री स्वास्थ्यलाभ, समवेदना विशेषाङ्क लगायत कृति प्रकाशन गरिसकेको जानकारी दिनुभयो भने महासचिव रामचन्द्र भण्डारीले यात्रीको अथाह ज्ञानबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभयोे ।
डा रामप्रसाद ज्ञवालीले यात्री अविश्रात अध्येता हुनुभएको र उहाँले नेपाली वाङ्मयमा विशाल भण्डार दिएर गएको बताउनुभयो भने राष्ट्रकवि घिमिरेले प्रकृति, जीवन, राष्ट्रियता र देशभक्तिलाई विषयवस्तु बनाएर नेपाली लोकछन्द र शास्त्रीय छन्दलाई निकै उचाइमा पु¥याउनुभएको टिप्पणी गर्नुभयो ।
सो अवसरमा प्रेक्षा लम्साल, अनु लम्साल, दुर्गाप्रसाद नेपाल, दिनेश घिमिरे र चण्डीराज नेपालले राष्ट्रकवि घिमिरे र बुनु लामिछाने रचित कविताका साथै आआफ्ना कविता वाचन गर्नुभएको थियो । रासस