
वालकुमारीस्थित किष्ट पोलिक्लिनिकमा कार्यरत नर्स निमा लामाको हत्या भएको भन्दै आफन्त तथा पीडितहरुले ललितपुर प्रहरी परिसरमा धर्ना दिएका छन् । प्रहरीले हत्यारालाई उन्मुक्ति दिन लागेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गरेका थिए ।
यो भीड ललितपुर प्रहरी परिसरको हो । प्रहरीको व्यवहारप्रति शंका लागेपछि यिनीहरु प्रहरीविरुद्ध नारावाजीमा उत्रेका हुन् । प्रहरीले किटानी जाहेरी लिन नमानेको, पीडकको नाम हटाउन दवाब दिएर वचाउन खोजेको भन्दै उनीहरु आइतवार अपरान्ह ललितपुर प्रहरी पुगेका थिए ।
किष्टमा कार्यरत मृतक निमा डोल्मा लामाले कार्यस्थलमा असार २७ आत्महत्या गरेको प्रहरीको भनाई छ । उनका आफन्तहरुले भने सञ्चालक डाक्टर देव साह र उनको सालो नाता पर्ने मुकेश साहले हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए । प्रहरीले उनीहरु दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले जुनसुकै अपराधको निष्पक्ष र स्वतन्त्र छानविन हुने भन्दै प्रारम्भिक अनुसन्धानमा हत्या नदेखिएको जनाएको छ ।
दोलखा भिमेश्वर एकका मृतक लामालाई वेपत्ता पारेर बन्धक बनाएको र हत्या गरेर आत्महत्याको ट्याग भिराउन खोजेको आफन्तहरुको आरोप छ । त्यसमा प्रहरीको मिलेमतो देखिएको भन्दै उनीहरुले आक्रोश जनाएका थिए । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।