२ श्रावण २०७३, आईतवार

दक्षिणी भोजपुरको सदरमुकामका रुपमा चिनिने घोडेटार बजारले विकासमा गति लिदै गए पनि चहलपहलमा भने कमी हँुदै गएको छ । यस क्षेत्रको एक दर्जन बढी गाविसको मुख्य व्यापारिक केन्द्र समेत मानिने घोडेटार बजारमा व्यापारिक चहलपहल घट्न थालेपछि स्थानीय व्यापारी चिन्तित हुन थालेका छन् ।


बिगतको तुलनामा बस्ती बिस्तार तथा सहरीकरण बढ्दै गएपनि मानिसहरुको घोडेटार बजारमा आवत–जावतमा कमी हुँदै गएको छ । २०६७ साल यता घोडेटारबजार धनकुटाको पाख्रीबास, मुगा, सुनबालुवा (अरुण नदी), होम्ताङ्ग हँुदै सडकसञ्जालमा जोडिएपछि दक्षिणका सबै जसो गाविसमा क्रमशः सडक यातायातको पहँुच पुगेपछि यस्तो भएको हो ।    सडकले गर्दा दैनिक उपभोग्य सामानहरु यातायातका साधनहरुबाट घर पायक ठाँउमै पुग्ने भएपछि घोडेटार बजारमा आवत–जावतमा कमी आई चहलपहल घटेको छ । ग्राहकलाई बजारमा पाइने सामान खरिद–बिक्री गर्न घोडेटार बजार आउँदा लाग्ने समय र खर्च जोगिने भएपछि आवतजावतमा गिरावट आएको हो ।
पहिले व्यापारिक उदेश्यले आउनेहरुले गर्दा घुइँचो हुने यस बजारमा अहिले आएर थोरै बाहेक बाँकी प्रशासनीक उदेश्यमा मात्र आउने गरेका छन् । यहाँ शनिबार लाग्ने साप्ताहिक हाटबजारमा समेत चहलपहल घटेको छ । सडकको पहुँच पुग्नु अघि ठुलो दुम्मा, सानो दुम्मा, बैकुण्ठे, बासिखोरा, मानेभन्ज्याङ्ग, बालंखा, पाङ्गचा, युँ लगायत सुदुर दक्षिण दुम्माना सम्मका स्थानीय सर्वसाधारण किनबेचका लागी यही आउने गरेकाले चहलपहल अत्यधिक हुने गर्दथ्यो ।  अहिले सबै गाविसका मुख्य केन्द्रमा बजार विस्तार भएर आवश्यक सामग्री नजिकै पाउने थालेको छ । जसले गर्दा सर्वसाधारणलाई लामो दुरीको जोखिम यात्रा मोलेर नुन देखि सुन सम्मको लागि घोडेटार जानुपर्ने बाध्यता टरेको छ ।
यसभेगमा उत्पादन हुने अलैची, अम्रिसो, चिराईतो, सुन्तला, मकै, अदुवा, बेसार लगायतका उत्पादित नगदेबाली, अन्नबाली, दलहन, तेलहन, मसलाका उत्पादन जिल्ला बाहिरका ठुला बजारमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV