२ श्रावण २०७३, आईतवार

तनहुँ जिल्लामा गत आर्थिक वर्षमा आएको विकास बजेट खर्च गर्न नसक्दा फ्रिज भएको छ । विकास निर्माणका ठेक्का व्यवस्थापनमा ढिलाई हुदाँ ३७ करोड १५ लाख रुपैयाँ बजेट फ्रिज भएको हो ।


आर्थिक बर्ष ०७२÷०७३ को कुल बजेट ४ अर्ब ७७ करोड ६४ लाख ८७ हजार रुपैयाँ बजेट मध्ये ४ अर्ब ४० करोड ४९ लाख ७५ हजार रुपैयाँ बजेट मात्र खर्च भएको छ । पूँजीगत तर्फ १ अरब २९ करोड ९७ लाख बजेटमा १ अरब ६ करोड ५९ लाख ३२ हजार खर्च भएको छ भने चालुतर्फ ३ अरब ४७ करोड ६८ लाख ८४ हजार रुपैयाँ बजेटमा ३ अरब ३३ करोड ९० लाख ४२ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दमौली तनहुँले जनाएको छ ।
विकास निर्माणका लागि ठेक्का व्यवस्थापनमा ढिलाई, नाकाबन्दी कारण निर्माण सामग्री ढुवानी नहुनु र सरकारी कार्यालयका रिक्त पद नहुनाले सो रकम बजेट फ्रिज भएको कार्यालयले बताएको छ । बढी बजेट फ्रिज हुने कार्यालयमा जिविस तनहुँ रहेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको तथ्याङ्ग अनुसार पूँजीगत तर्फ ३० करोड ७० लाख ७१ हजार रुपैयाँ बजेटमा जम्मा २० करोड १६ लाख २६ हजार रुपैयाँ बजेट मात्र खर्च भएको छ । यो तथ्याङ्गलाई हेर्दा जिविस तनहुँमा यस आर्थिक बर्षमा पूँजीगत तर्फ १० करोड ५४ लाख ४५ हजार रुपैयाँ बजेट फ्रिज भएको छ  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV