१ श्रावण २०७३, शनिबार

हिमालपारीको जिल्ला मनाङ र लमजुङको सिमानामा पर्ने म्यार्दी खोलाको मोटरेवल पुल बगाउँदा लमजुङ र मनाङको सम्बन्ध टुटेको छ । म्यार्दी खोलामा अबिरल बर्षासँगै आएको बाढीले पुल बगाएको हो ।

zx
सडक स्तरोन्नतिको जिम्मा पाएको सडक डिभिजन कार्यालय दमौलीले एक महिना अघिमात्रै पक्की पुलको निर्माण गरेको थियो । सडकले भर्खरै मात्रै राखेको मोटरेवल पुल अत्याधिक बर्षाका कारण खोलामा आएको बाढीले बगाइदिएको मनाङ खेलकुद विकास समितिका अध्यक्ष सिंहबहादुर गुरुङले बताउनुभयो । पुल खोलाले बगाइदिएपछि लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ यात्रु र मालसामान बोकेर गएका जीपहरु अलपत्र परेका छन् । म्यार्दी भिर नजिकै रहेको म्यार्दी खोलामा आएको बाढीले पुलको दुबै तर्फको ‘फाउन्डेशन’ भत्काएको प्रहरी चौकी तालका असई लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार खोलामा आएको अत्याधिक बाढीले पुलको दुबैतर्फको गाह्रोका साथै पुलका पार्टसहरु सबै बगाइदिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले खोलाले पुल बगाउँदा दुबै जिल्लाको सम्पर्क बिच्छेद हुन पुगेको बताउनुभयो । उहाँले पुल बगाएको बिषयमा सम्बन्धित निकायमा खबर गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV