३१ असार २०७३, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले देशमा राजनीतिक स्थिरता नहुँदा सर्वसाधारण नागरिकले अनेक दुःख र हैरानी खेप्न बाध्य भएको बताउनुभएको छ ।

बट्टारमा ‘निरञ्जना भैरवी मिडिया’द्वारा सञ्चालित ‘भैरवीन्युज डट कम’को आज शुभारम्भ गर्दै उहाँल देशमा स्थायी शान्ति, संविधान कार्यान्वयन र परिवर्तनका लागि दल सत्तामा भन्दा राजनीतिक एकतामा केन्द्रित हुनुपर्ने बताउनुभयो । पूर्वमन्त्री डा लोहनीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रियता लगायत विभिन्न क्षेत्रमा सकारात्मक कार्य गरेका कारण यसको निरन्तरताको आवश्यकता रहेको बताउनुभयो ।
“सत्ताप्रेमी भएकै कारण माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर गम्भीर भूल गरेको छ, एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिकै कारण देशमा विभिन्न समस्या आइरहेको हो”उहाँले भन्नुभयो ।

अर्को प्रसङ्गमा पूर्वअर्थमन्त्री डा लोहनीले भाग शान्तिमा बजेट सक्ने परिपाटीको नेपालमा विकास भइरहेको आरोप लगाउँदै उहाँले सरकारले प्रत्येक आवको असार मसान्तमा २० प्रतिशत कुल बजेटको रकम खर्च गर्न नपाउने बताए पनि त्यसको उल्टो भइरहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले पत्रकारले परम्परागत भावनालाई छाडेर नयाँ ढङ्गबाट पत्रकारिता गर्नुपर्ने आग्रह गर्नुभयो । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले देशमा राष्ट्रिय भावनाको पत्रकारिताको आवश्यकता रहेको ठहर गर्नुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित, कृषि विकास बैंक सञ्चालक समितिका सदस्य रमेशकुमार महत, नयाँ शक्तिका संयोजक कृष्ण कुइँकेल, ‘भैरवीन्युज डट कम’का सञ्चालक तथा अधिवक्ता लक्ष्मी शर्मा, सञ्चालक विनोद दाहाल, राजु लोहनी लगायतले निष्पक्ष र स्वतन्त्र पत्रकारिताबाटै जनताको मन जित्न सकिने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV