३१ असार २०७३, शुक्रबार

तीन पुस्तासम्म पनि मुद्दाको किनारा लाग्न नसक्ने अदालती अव्यवस्थालाई न्यूनीकरण गर्ने प्रयासमा पुनरावेदन अदालत पाटनको भूमिका सराहनीय छ ।

अठार महिनाभन्दा पुराना मुद्दा किनारा लगाउने सोचकासाथ काम गर्दै आएको र अन्य पुनरावेदन अदालतको तुलनामा अब्बल मानिएको सो अदालतमा हाल दुई वर्ष नाघेका मुद्दा ६८ थान, १८ महिना नाघेका मुद्दा ३०५ थान, एक वर्ष नाघेका मुद्दा एक हजार ४०१ थान र एक वर्षभित्रका चार हजार ८०८ थान गरी छ हजार २०९ मुद्दा किनारा लगाउन बाँकी छ ।

विगतका वर्षदेखि नै उल्लेख्यमात्रामा मुद्दाको किनारा लगाउँदै आएको सो अदालतले यो आवको असार मसान्तसम्ममा दर्ता भएका १३ हजार ९५४ थान मुद्दामध्ये सात हजार ७४५ थान मुद्दा किनारा लगाएको छ ।

अन्य पुनरावेदन अदालतको तुलनामा ३१ दशमलव १५ प्रतिशत मुद्दाको कार्यभार रहेको सो अदालतमा १४ जना न्यायाधीशमध्ये नौ जना मात्र कार्यरत छन् भने दरबन्दीअनुसारको अन्य कर्मचारी पूर्ति हुन नसकेको छैन ।

बर्सेनि मुद्दाको चाप बढ्दै गएको आवश्यकताअनुसार दरबन्दी पूरा नभएकाले फैसला लेखन, मुद्दा फछ्र्यौट र मुद्दा तथा बहस व्यवस्थापनमा सोचेजति सुधार हुन नसकेको, उपरजिस्टार धु्रवकुमार ढकाल बताउनुहुन्छ ।

अदालतले यस आवमा नौ हजार १३२ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो तर सोचिएजति लक्ष्य पूरा हुन नसकेको उहाँको गुनासो छ । तीमध्ये वाणिज्य इजलासतर्फ एक हजार २७५ थान मुद्दामध्ये ८०७ थान मुद्दा फछ्र्यौट भएको र मेलमिलापतर्फ ६५६ मुद्दामध्ये १७३ थान मुद्दा मेलमिलाप गराइएको ४२६ थान फिर्ता पठाइएको र ५७ थान मुद्दा मेलमिलाप प्रक्रियामा रहेको उपरजिस्टार ढकालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV