३० असार २०७३, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको बताउनुभएको छ । नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बुद्ध धर्म र दर्शनको स्रोत समेत भएको प्रधानमन्त्री ओलीको कथन छ ।


धर्मकीर्ति विहार नघलका अध्यक्ष भिक्षुणी धम्मवतीको ८३ औँ जन्मोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले विश्वलाई शान्तिको सन्देश दिनुका साथै विश्व बान्धुत्व, भ्रातृत्व र मानव जातिको सर्वोपरी कल्याणको उपाय बुद्धले सिकाएको उल्लेख गर्नुभयो । बुद्धले देखाएको मध्यम मार्ग र शान्तिको बाटो विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । लुम्बिनी विकासका लागि पर्याप्त बजेट छुट्याइएको उल्लेख गर्दै उहाँले त्यहाँको विकास छिटोछरितो रुपमा गर्न निर्देशन दिएको पनि बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीको विकास गर्न जापानी प्रोफेसर केन्जो तान्जेले पेस गर्नुभएको गुरुयोजना आगामी तीन वर्षभित्र पूरा गर्ने गरी कार्य अगाडि बढाइएको बताउनुभयो ।
विहारका अध्यक्ष भिक्षुणी धम्मवतीले सरकारले बुद्धपूर्णिमाको अवसरमा आयोजना गरेको बौद्ध सम्मेलनले विश्वभर बुद्ध धर्म र शान्तिको सन्देश फैलाउन मद्दत पुगेकामा खुसी व्यक्त गर्नुभयो । त्यसका लागि प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई सधन्यवाद सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV