३० असार २०७३, बिहीबार

अभ्यास खेलका लागि बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई हराएको छ । बुधबार राति सकिएको खेलमा नेपाली टोलीले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई एक सय २९ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको दुई सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेस्टरले २९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । फ्रि फोरेस्टरलाई कम रनमै आउट गराउनमा बिक्रम सोम महत्वपूर्ण रहे । उनले चार विकेट लिए । यस्तै सन्दिप लामिछानेले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३५ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७३ रनको योगदान गरे । यस्तै शरद भेषवाकरले ५०, पारस खड्काले ४०, सागर पुनले २१ रन बनाए । नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा खेल खेल्ने छ ।
साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच वेलायतको लड्र्स मैदानमा खेल हुनेछ । लड्र्समा खेल्न पाउनुलाई नेपाली खेलाडीहरुले आफूलाई भाग्यमानी ठानेका छन् । यस्तो मौका बारम्बार नआउने भएकाले लड्र्समा नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV