३० असार २०७३, बिहीबार

राष्ट्रिय सूचना आयोगले गत जेठ मसान्तभित्र विभिन्न मुद्दामा एक हजार ५७३ आदेश जारी गरेको छ ।

National-Information-Commis

आयोगका प्रवक्ता यशोदा तिम्सिनाले आज जारी गर्नुभएको विज्ञप्तिमा मकवानपुर जिविस कार्यालयलाई आयोगले ढुङ्गा गिट्टी, बालुवालगायत नदीजन्य वस्तुको वातावरणीय प्रभाव अध्ययन गरेको, ठेक्कापट्टा लगाएको, सोसम्बन्धी गतिविधिको विवरण सूचना मागकर्तालाई सूचना दिन आदेश गरिएको छ ।

उक्त आयोग र ‘गभरनेन्स फेसिलिटी’बीच त्रिवर्षीय सहयोग आदानप्रदानमा हस्ताक्षर भएको र जसबाट रु आठ करोड सहायता प्राप्त हुने जानकारी दिँदै सो रकम नागरिकलाई सूचना माग गर्न सशक्तीकरण गर्ने, आयोगको क्षमता अभिवृद्धि गर्नेलगायत क्षेत्रमा खर्च गरिने उल्लेख छ ।

आयोगले देशका ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारी र मातहतका कार्यालयका साथै नेपाल राष्ट्र बैंक तथा उक्त बैंकको अनुमतिमा सञ्चालित २३८ बैंक तथा वित्तीय संस्थाका नाममा समेत भएका गतिविधि प्रत्येक तीन÷तीन महिनामा माग भएका सूचना तथा उपलब्ध गराइएका सूचनाका अभिलेख गर्ने सूचना अधिकारी तोक्न निर्देशन गरेको छ ।

त्यसैगरी नेपाल वायु सेवा निगमले खरिद तथा अनुदानमा ल्याउन लागेको चिनियाँ जहाजसम्बन्धी नेपाल र चीनबीच भएका सम्झौता सार्वजनिक गर्न आदेश दिइएको छ । बिमा समिति र उक्त समितिको अनुमतिबाट सञ्चालित २८ निकायमा पनि यस किसिमको आदेश जारी गरिएको छ ।

आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेना तथा विभिन्न गैरसरकारी सङ्घसंस्था तथा इलाम, पाल्पा, गोरखा, धनकुटालगायत जिल्लामा सरोकार भएका पक्षसँग छलफल गरेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV