३० असार २०७३, बिहीबार

सिरियाली राष्ट्रपति बसर अल असदले आफूलाई रसियाका तर्फबाट कुनै पनि प्रकारको दबाब नआएको खुलासा गर्नुभएको छ ।

एबीसी न्युजसँगको अन्तरवार्तामा सिरियाली राष्ट्रपति असदले सो खुलासा गर्नुभएको हो । बिहीबार सो न्युजसँगको अन्तरवार्तामा उहाँले आफूलाई रसियाले सत्ताबाट हट्नुपर्ने भनी अहिलेसम्म त्यस्तो कुनै दबाब नदिएको बताउनुभएको हो ।

आफूसँग यसअघि पनि बारम्बार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सेर्गेइ लाभरोभबीच भेटवार्ता भएको र त्यसक्रममा सिरियाको राष्ट्रपतिबाट हट्न उहाँहरुले केही नभनेको उहाँको भनाई थियो ।

राष्ट्रपति असदले सिरियामा राजनीतिक सङ्क्रमणका विषयमा पनि उहाँहरुसँग कुनै पनि वार्ता नभएको जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो– हुनत हामीलाई कसैले जा वा आइजा भन्ने होइन र यसको निर्णय गर्ने अन्तिम निर्णयकर्ता भनेका सिरियाली जनता नै हुन् ।

सिरियामा गएको करिब पाँच वर्षदेखि गृहयुद्ध भइरहेको छ । सो गृहयुद्धका कारण दुई लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ ।

यस पटक पनि वार्ताको प्रयास भएको बताइएको छ । तर यसअघि पटक–पटकका प्रयास पनि सफल नभएपछि फेरि त्यो प्रयास भएको बताइएको हो ।

अमेरिकी विदेशमन्त्री जोहन केरी सिरियासम्बन्धी वार्ताका लागि रसिया जान लाग्नुभएको छ । यसै समयमा सिरियाली राष्ट्रपति असदको यो भनाई आएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
LIVE TV