२९ असार २०७३, बुधबार

भुकम्पले घर भत्किएर विस्थापित जीवन बिताइरहेका लमजुङका पीडितहरुलाई पहिरोले पनि छाडेन् । भुकम्पपछि सामान्य कटेरामा बस्दै आएका लमजुङको फलेनी–४ तल्लो माझखर्कका बासिन्दालाई गाउँ माथिबाट आएको पहिरोले पनि लखेटेपछि गाउँलेहरु यतिबेला पिडाको जीवन बिताउन बाध्य छन् ।


पूर्वी लमजुङको फलेनी–४ स्थित तल्लो माझखर्कका पहिरो पीडितहरुलाई जस्तापाता तथा निर्माण सामाग्री उपलब्ध गराइएको छ । बस्ती माथिबाट अविरल बर्षासँगै आएको पहिरोले बस्ती पुरेपछि विस्थापित नागरिकलाई जस्तापाता सँगै अन्य निर्माण सामाग्री वितरण गरिएको हो । बस्ती माथिबाट पहिरो चलेपछि विस्थापित जीवन बिताइरहेका १२ घर परिवारलाई अस्थायी टहरा निर्माणका लागि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जस्तापाता लगायतका अन्य निर्माणका सामाग्री उपलब्ध गराइएको रेडक्रस लमजुङका सभापति नारायणप्रसाद घिमिरेले जानरकारी दिनुभयो । उहाँका अनुसार प्रति घरपरिवार २ बण्डल जस्तापाता, निर्माण सामाग्री तथा आवश्यक औजार उपलब्ध गराइएको छ । जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहन जिसीको नेतृत्वमा ढोडेनीको किर्तिपुरमा पुगेर पहिरो पिडितलाई जस्ता लगायतका अन्य सामाग्री उपलब्ध गराइएको हो ।

२ साताअघि अबिरल बर्षासँगै गाउँमाथिबाट पहिरो जान थालेपछि स्थानीय घर छोडेर मकैबारीमा त्रिपाल टाँगेर बस्दै आएका छन । जिल्ला दैवि प्रकोप उद्धार समितिको पहल तथा रेडक्रसको सहयोगमा यसअघि उनीहरुलाई फलेनी–३, क्वानडाँडामा त्रिपालको अस्थायी टहरा बनाएर राखिएको थियो ।

भुकम्पका कारण धाँजा फाटेको स्थानमा पहिरो गएपछि माझखर्क गाउँका पूर्णबहादुर गुरुङ, बुद्धमान गुरुङ, लक्ष्मण गुरुङ, तेजबहादुर गुरुङ, दमबहादुर गुरुङ, शंकरबहादुर गुरुङ, थिरबहादुर गुरुङ, चेतबहादुर गुरुङ, कोषबहादुर गुरुङ, सोमलाल गुरुङ, रामचन्द्र गुरुङ र जंगबहादुर गुरुङको परिवार बिस्थापित बनेका छन् । गाउँभन्दा ३ सय मीटरको दुरीमा गएको पहिरोमाथि करिब ७० मीटरभन्दा बढी धाँजा फाटेको छ । गाउँभन्दा माथि ठुलो ढुङ्गा अड्किएर बसेकाले स्थानीय थप त्रसित बनेका छन् । बर्षायाममा घर छाड्न परेपछि गाउँका बृद्धबृद्धा र बालबालिकाहरु बिचल्लीमा छन् । गाउँलेका अनुसार गतबर्ष पनि उक्त ठाउँमा पहिरो खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV