२९ असार २०७३, बुधबार

गाविसहरुलाई गाभेर नयाँ नगरपालिका घोषणा गरेपछि दाङका स्थानीयहरु निकै खुशी भएका थिए । नगरपालिका घोषणा भएसँगै ठूलै बजेट र योजना आउने भएकोले विकास निर्माणको धेरै अपेक्षा राखेका थिए उनीहरुले । तर अहिले स्थानीयहरुको त्यो उत्साह हराउँदै गएको छ ।  नयाँ थपिएका नगरपालिकामा सेवा प्रवाह गाउँ विकास समितिको भन्दा सुस्त र झन्झटिलो भएको भन्दै नगरवासीहरुले गुनासो गर्न थालेका छन् ।

जिल्लामा नयाँ घोषणा भएका दुई नगरपालिका त्रिपुर र लमही नगरपालिकाका सेवाग्राहीहरुले नगरपालिकाको काम कारवाही र सेवाप्रति  असन्तुष्टि व्यक्त गर्न थालेका हुन् । उनीहरुले वडा र नगर गर्दा एक दिनमा हुने काम दुइदिन लाग्ने गरेको भन्दै गुनासो गरे ।

उता त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिं थापा मगरले भने क्रमिकरुपमा पुर्वाधारहरु निमार्ण भइरहेको र विकासले पनि गति लिइरहेकोले नगरवासीहरुले अव नगरको महसुस गर्ने वातावरण बन्ने बताउनुभयो ।

लमही नगरपालिकाका कार्यकारी अधिकृत ललितबहादुर थापाले  गाउँ विकास समितिको भन्दा बजेट र विकास उल्लेखनीय भएको भन्दै नयाँ नगरपालिका पनि विकासमा जोडिएको बताउनुभयो । उहाँले नगरक्षेत्रमा ठुला–ठुला योजनाहरु सञ्चालन भइरहेको जानकारी दिनुहुँदै पूर्वाधारहरु समेत बढिरहेको वताउनुभयो ।
जिल्लामा नयाँ घोषणा गरिएका दुई नगरपालिकाहरुले हालसम्म पनि आफनो कार्यालय भवन बनाउन सकेका छैनन् । भवनका लागि आएको पैसा दुई वर्ष देखि फिर्ता भइरहेको छ ।  उता तुलसीपुर नगरपालिकाले पनि केही गाविसहरुलाई नगरपालिकामा गाभेर विकासलाई तिव्रता दिएको छ । गाभिएका गाउँहरुमा पनि ठुला–ठुला योजना निमार्ण गरिरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV