२९ असार २०७३, बुधबार

डुबान र कटानको समस्या भोग्दै आएको कैलाली जिल्लाका साबिकको फूलवारी, हसुलिया, पवेरा र रतनपुर गाविस क्षेत्रका वासिन्दाहरुले हरेक वर्ष वर्षायाममा डुबान र कटानको समस्या झेल्दै आएका छन् ।  यसको दीर्घकालीन समाधानकालागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएपनि खासै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

index
जिल्लाको फूलवारीको सवैभन्दा बढी कटान र डुबानको समस्या भोग्दै आएको खेदा, हसुलियाको भितरिया, पवेरा र रतनपुरको कटैनी नदीको कटान क्षेत्रको स्थलगत अवलोकनका लागि पुग्नुभएका प्रमुख जिल्ला अधिकारीसँग स्थानीयहरुले यस्तो गुनासो गरेका हुन् । २०५८ सालदेखि मोहना नदीको कटान र डुबानले धनगढी उपमहानगरपालिका वडा नं. १८ फुलवारीको खेदा क्षेत्रका करिब १ सय ५० घर प्रभावित भएका छन । त्यसमा २५ घर पूर्णरुपमा विस्थापित भएको स्थानीय भलभन्सा बमबहादुर चौधरीले बताउनुभयो । अहिले पनि सो क्षेत्रमा मोहना नदीले कटान गरिरहेको स्थानीय रत्ना चौधरीले बताउनुभयो ।

मोहना नदीको कटान खेदाको वस्तीतिर आएकाले करिब १ सय विगाहा जमिन नेपालको मोहना नदी पारी पुगेको छ । २०६५ सालको बाढीले सो  क्षेत्र कटान गरेर पुरै बगर बनाएको स्थानीय बासिन्दा ठग्गुराम चौधरीले बताउनुभयो । खेदा क्षेत्रमा रहेको आफ्नो सवै खेतीयोग्य जमिन मोहनाले लगेपछि परिवार पाल्नै समस्या भएको अर्का स्थानीय बासिन्दा विन्देश्वर चौधरीले बताउनुभयो । खेदा क्षेत्रको नदी नियन्त्रणकालागि तटबन्धको माग गर्दै तत्कालिन गाविस, हाल धनगढी उपमहानगरपालिका र जिविसमा धेरै पटक धाएपनि कतैबाट सहयोग नभएपछि आफ्नै आँखा अगाडि जमिन बगरमा परिणत भएको हेर्नुपरेको स्थानियहरुले बताए ।

स्थानीयहरुको गुनासो सुनिसकेपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले खेदा क्षेत्रको अवस्था दयनीय रहेको बताउँदै नदि कटान नियन्त्रणका लागि सम्बन्धित कार्यालयलाई रोकथामका लागि आग्रह गरिने बताउनुभयो ।

समयमा नै नदि नियन्त्रणको काम नहुँदा धनगढी उपमहानगरपालिकाको खेदा वस्ती नदिमा विलय हुने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV