२९ असार २०७३, बुधबार

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ बेलचौतारामा बस्ने जङ्गबहादुर तामाङलाई धारिलो हतियार प्रहार गरी फरार छ जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

पक्राउपर्नेमा सोही नपा–३ दुलेगौडा बस्ने २५ वर्षीय मिलन पौडेल र वडा नं ४ शान्तिटोल बस्ने २२ वर्षीय दिपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कुटपिटमा संलग्न अन्य फरार चार व्यक्तिको खोजी भइरहेको जिप्रका तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । गत वैशाख ९ गते ती व्यक्तिले तामाङलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी प्रनाउ गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, दमौली बजार र यस आसपासका क्षेत्रबाट बरामद गरिएको तीन हजार लिटर घरेलु मदिरा प्रहरीले आज नष्ट गरेको छ । बजार क्षेत्रका आधा दर्जन होटलबाट बरामद गरिएको उक्त परिमाणको मदिरा नष्ट गरिएको हो । रास

प्रतिक्रिया दिनुहोस्
LIVE TV