२८ असार २०७३, मंगलवार

बैतडीलाई आज देशकै ३८ औं तथा सुदूरपश्चिमको पाँचौं जिल्लाका रुपमा खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्लामा रहेका ५६ गाविस र दुई नगरपालिकाका सबै घरधुरी र सार्वजनिक संस्थामा ४७ हजार ६६६ शौचालय निर्माण भई प्रयोगमा आइसकेपछि जिल्लालाई आज एक औपचारिक कार्यक्रम गरी खुला दिसामुक्त घोषणा गरिएकोे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा २०६८ सालमा महाकाली गाविसलाई खुला दिसामुक्त घोषणा गरेसँगै सुरु भएको सरसफाइ अभियानले आज पाँच वर्षपछि मूर्त रुप लिएको हो । ‘सफा गाँउ सफा सहर, बैतडीवासीको साझा रहर’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले खुला दिसामुक्त घोषणा गर्नुभयो ।

सो अवसरमा मन्त्री सिंहले मुलुक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेकाले अहिले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जनताले राष्ट्रिय सहमति चोकका छन्, सरकार परिवर्तन होइन ।” यसअघि गतसालै बैतडीलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको भएपनि त्यो लक्ष्य पूरा हुन सकेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV