२७ असार २०७३, सोमबार

नेकपा माओवादी सम्बद्ध अनेरास्ववियु ९क्रान्तिकारी०ले एसएलसी परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू गर्दा झन्डै दुई लाख विद्यार्थी उच्चशिक्षा पढ्ने अवसरबाट वञ्चित भएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
‘डि’ र ‘इ’ ग्रेडिङमा परेका दुई लाख विद्यार्थीलाई उच्चशिक्षा पढ्ने वातावरण सरकारले बनाई दिनुपर्ने माग गर्दै उक्त सङ्गठनले विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ ।
यहाँ आज आयोजित साक्षात्कारमा सो सङ्गठनका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक लोकेश विश्वकर्माले शिक्षा क्षेत्रमा निजी कलेजले व्यापारीकरण गरेको र गरिब तथा निमुखा एवम् ग्रामीण क्षेत्रका लाखौँ विद्यार्थी उच्चशिक्षाबाट वञ्चित हुने अवस्था आएको भन्दै गरिब जनतालाई उच्चशिक्षा पढ्ने अवसर दिलाउन सरकारसँग माग गर्नुभयो ।
सङ्गठनले सरकार समक्ष पूर्वतयारी बिना लागू गरिएको ग्रेडिङ प्रणाली सच्याउन र निजी विद्यालय तथा कलेजले लिँदै आएको अतिरिक्त शुल्क खारेजीलगायत १५ बुँदे माग गरेको छ । रासस

LIVE TV