२७ असार २०७३, सोमबार

– संजिब दाहाल

पहिलो महिला प्रधानन्यायाधीश सुशिला कार्कीले काम नगर्ने न्यायाधीशहरू पनि अदालतमा रहेको बताउँदै उनीहरूलाई गोल्डेन ह्यान्डसेक दिएर घर पठाउनुपर्ने बताइन् ।

११ जना न्यायाधीश नियुक्ति भए ६ महिनामा ८ हजार मुद्दा फछ्र्योट हुने उनले बताइन् । कामु न्यायाधीशमा आफू आउँदा करिब ३ हजार फैसला गरेको उनले सुनाइन् । उनले आफू कामु प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनको मोडालिटी नै परिवर्तन गरेको बताइन् । उनले ०७३ वैशाखदेखि साना प्रकृतिका मुद्दा हेरेको बताउँदै तराईका, गरिबका मुद्दा हेरेको बताइन् । गरिबले वकिल राख्न सकेन भने उनीहरू आफैंले आफ्ना कुरा भन्ने परम्पराको थालनी गरेको पनि उनले सुनाइन् । यसका लागि पैसा नलिईकन गर्ने काम थालेको बताइन् । सर्वोच्च अदालत न्यायपालिकाको भन्दा माथिल्लो निकाय हो ।

supreme-court-justice-Sushila-karki-11212

यसले स्वतन्त्र र निष्पक्ष रूपमा न्याय दिने विश्वास सबैमा छ । तर, प्रधानन्यायाधीशमा अनुमोदित सुशीला कार्कीले भने आफू विगतमा सर्वोच्चमा आँसु पिएर बस्न बाध्य भएको बताएकी छन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेपछि संसदीय सुनुवाइ समितिमा सुनुवाइका लागि आइतबार उपस्थित भएकी उनले भनिन्, ‘मैले सर्वोच्चमा सात वर्ष सात महिना बिताइसकेको छु, त्यसक्रममा ८ हजार ७ सय ६४ मुद्दाको फैसला गरिसकेको छु, तर म स्वयं भने आँसु पिएर बस्न बाध्य हुनुप¥यो ।’ तत्कालीन प्रधानन्यायाधीशहरू रामप्रसाद श्रेष्ठ, मीनबहादुर रायमाझी र खिलराज रेग्मीले माया गरे पनि अरूबाट त्यस्तो माया नपाएको उनको भनाइ थियो । ‘मलाई महिलाका विषयमा कतिसम्म कि बेन्च नै तोकिएन,’ कार्कीले भनिन्, ‘सर्वोच्च अदालतमा मलाई अपमान गर्ने काम भएको छ । सबै कुरा म बताउन सक्ने अवस्थामा छैन । त्यहाँ आँसु पिएर बस्ने अवस्था आयो ।’ कामु प्रधानन्यायाधीश भएपछि महिलाका विषय, वातावरणको विषयलाई प्राथमिकतामा राखेर हेरेको उनले बताइन् । उनले आफूले पाएको पीडा र वेदनाकै कारण सर्वोच्चको स्थायी न्यायाधीशमा सपना प्रधान मल्ललाई ल्याउन पहल गरेको समेत बताइन् । ‘सपना मल्ललाई ल्याउने कुरामा निवर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पनि गाली नगर्नुस्, कानुनमन्त्री अग्नि खरेललाई पनि गाली नगर्नुस्,’ उनले भनिन् । अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिँदा नेपालमा सातजना मात्र महिला न्यायाधीश छन् भन्दा सबै गलल हाँसेको उनले स्मरण गराइन् ।

‘बंगलादेशले ३ सय भन्छ, अन्य ससाना राष्ट्रमा पनि डेढ सयभन्दा कम छैनन् तर हामीले भन्नै लाज मान्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन्, ‘यसबाट हामीले मुक्ति पाउनुपर्छ । सपना प्रधान मल्ल समानुपातिक सांसद हो, तर उहाँलाई राजनीतिक व्यक्ति हो भन्नु त्यति उचित छैन । उहाँ अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा पढेको मान्छे । उहाँ न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हो, त्यसैले सर्वोच्चको स्थायी न्यायाधीशमा ल्याएको हो ।’ उनले थपिन्, ‘अदालतमा महिलाको खाँचो छ । पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको पालामा महिला न्यायाधीश ल्याउन खोजिएको थियो, तर केही विदेशमा रहेका महिलाहरू यहाँको तलबले पुग्दैन भन्दै आएनन्, त्यसपछि सपना प्रधान मल्ललाई सोधेको, उहाँले हुन्छ भनेपछि सिफारिस गरिएको हो ।’ कार्कीेले सर्वोच्चमा केही समयपछि नै महिला न्यायाधीश नहुने तथ्य पनि सुनाइन् । ‘सर्वोच्चमा म र मीरा मात्रै बाँकी हो, अब म एक वर्षसम्म हो, मीराको पनि धेरै छैन, यसपछि सर्वोच्चमा महिला न्यायाधीश नै हुँदैनन्, एकदुई वर्ष काम गरेकालाई न्यायाधीशका लागि सिफारिस गरेर हुँदैन,’ कार्कीले भनिन् ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि कार्कीलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनलाई अनुमोदन गरिएको पत्र संवैधानिक परिषद्मा पठाइएको छ । संवैधानिक परिषद्बाट राष्ट्रपति कार्यालयमा यसबारेको पत्र पठाएपछि कार्की राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV