२६ असार २०७३, आईतवार

बैतडी, असार । अवैधरुपमा भारतबाट ल्याउँदै गरेको तीन किलो बहुमूल्य जडीबुटी यार्सागुम्बासहित दुई जनालाई प्रहरीले दार्चुलाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार पक्राउपर्नेमा दार्चुला हिकिला–२ घर भई हाल अपि नगरपालिका–११ बागाबगर बस्ने ३० वर्षीय नन्दनसिंह बडाल र दार्चुला जिल्ला धारी–३ घर भई हाल अपि नपा–११ बस्ने ३५ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन् ।

उनीहरुलाई प्रहरीले हुती–६ महाकाली किनारबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरीले आज बेलुका पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुले बहुमूल्य जडीबुटी यार्सागुम्बा भारतको जुमा भन्ने ठाउँबाट लिएर आएको बताएका छन् ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले आजै अपि नाम्पा संरक्षण कार्यालय, दार्चुलाको जिम्मा लगाएको छ । बरामद गरिएको तीन किलो यार्सागुम्बाको स्थानीय मूल्य रु ३० लाख पर्ने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV