२६ असार २०७३, आईतवार

गोरखा, असार  गते । निजी आवास निर्माणका लागि जिल्लाका ८० प्रतिशत भूकम्पपीडित लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । ५८ हजार ५०३ लाभाग्राहीको नाम सार्वजनिक भएकोमा शुक्रबारसम्म ४५ हजार २६० घर परिवारले अनुदान सम्झौता गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका सूचना अधिकारी गुणराज भट्टराइले जानकारी दिनुभयो । ५६ गाविस र दुई नगरपालिकामा अनुदान सम्झौता सकिएको उहाँकोे भनाइ छ । ‘हामीले तीव्र रूपमा अनुदान सम्झौताको काम अगाडि बढाएका छौँ अहिलेसम्म ८० प्रतिशत अनुदान सम्झौताको काम सकिएको छ । ’
हिमालपारिको उत्तरी सात गाविसमा पनि अनुदान सम्झौता सकिएको छ । उत्तरी गोरखाको सामागाउँमा १९३, ल्हो गाविसमा १९८, प्रोकमा १४०, विहिको १७०, छेकम्पारको २३८, चुम्चेत गाविसका २२७, सिर्दिवासका ३१४ घर परिवारले अनुदान सम्झौता गरेका छन् । अनुदानबापत दिने रकम वितरणका लागि गाउँमै बैङ्कहरू पुग्नुपर्ने उनीहरूले माग गरेको भट्टराईले बताउनुभयो । हिमालपारिका सात गाविस पुगेर फर्किनुभएका भट्टराईले भन्नुभयो– त्यहाँ निकै विकट छ, पीडितहरू सदरमुकाम आउनसक्ने अवस्था छैन । निमार्ण सामग्री ढुवानीमा पनि निकै समस्या छ । उनीहरूले अनुदान गाउँमै पाउनुपर्ने माग गरेका छन् । उत्तरी गोरखाबारे छुट्टै निर्णय लिन आवश्यक छ । ’ उत्तरी गोरखामा अधिकांश भूकम्प पीडितहरूले पुरानै प्रविधिमा घरहरू बनाइसकेका पनि भट्टराईले बताउँनुभयो । ‘सबैले पुरानै प्रविधिमा घरहरू बनाइसकेका रहेछन् । उनीहरूको परम्परागत घरहरूलाई कसरी भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भनेर हामीले इन्जिनियरहरूसँग छलफल गर्नु जरुरी छ ।
१५ हजार गुनासो
भूकम्पले पूर्णरूपमा घर क्षति भएपनि तथ्याङ्क सङ्कलनपछि आपूmहरूको नाम अनुदान पाउने सूचीमा छुटाइएको भन्दै गोरखाका १५ हजार ६२ जनाले गुनासो गरेका छन् । भूकम्प प्रतिरोधी निजी आवास निर्माणलाई सरकारले दिने दुई लाख रुपियाँ वास्तविक भूकम्पपीडितले नपाउने र नक्कली भूकम्प पीडितले पाउने अवस्था सिर्जना भएको भन्दै उनीहरूले गाविस र नगरपालिकामा गुनासो गरेका हुन् । उपक्षेत्रीय कार्यालयका अनुसार ४४ हजार ७८१ घरधुरीसँग अनुदान सम्झौता हुँदा १५ हजार ८ जनाले गुनासो गरेका हुन् । गोरखाका ५८ हजार ५०३ लाभग्राहीले अनुदान पाउन तथ्याङ्क छ ।
जिल्लाका १२ गाविसका १० हजार ५७९ जनाको खातामा पहिलो किस्ताको ५० हजार रुपियाँ उपलब्ध गराइएको उपक्षेत्रीय कार्यालय गोरखाका प्रमुख जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । हंसपुर, सौरपानी, वारपाक, देउराली, गुम्दा, मुच्चोक, मान्बु, ताक्लुङ, मनकामना, केरावारी, हर्मी, थालाजुङ गाविसका लाभग्राहीको खातामा पहिलो किस्ताको रकम उपलब्ध गराइएको हो । जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण भट्टले असार मसान्तसम्म सबै गाविसका पीडितहरूलाई पहिलो किस्ताको रकम पु¥याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आपतकालीन उद्धारका लागि १२ केन्द्र
वर्षाको समयमा भूकम्प पीडितलाई आइपर्ने थप समस्या सम्बोधन गर्न गोरखामा १२ वटा आपत्तकालीन उद्धार केन्द्र स्थपाना गर्न लागिएको छ । वर्षा लागेसँगै भूकम्पका कारण चिरा परेको जमिन भाँसिने, पहिरो जान थालेपछि आपत्तकालीन उद्धारका लागि जिल्लाका विभिन्न ठाउँमा उद्धार केन्द्र स्थापना गर्न लागिएको आपत्तकालीन उद्धार टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयो ‘यसपालि मनसुन सुरु भएसँगै पहिरोको समस्या देखिएको छ, उत्तरी गोरखाको उहिया र केरौजामा पहिरोका कारण नागरिकहरू विस्तापित हुनुपर्ने अवस्था आएपछि पीडित जनतालाई छिटोभन्दा छिटो उद्धार र राहत सेवा पु¥याउन केन्द्र स्थापनाको तयारी गरेका हौँ । ’ नेपाल प्रहरीको नेतृत्वमा रहेन सो उद्धार केन्द्रमा रेडक्रस, स्काउट, स्थानीय क्लब, समूह, शिक्षक, स्थानीयस्तरमा काम गर्ने सामाजिक सङ्घ संस्थाका संयुक्त टोली निमार्ण गरिने सहायक प्रजिअ शर्माले जानकारी दिनुभयोे । उत्तरी गोरखाको माछाखोला, सिर्दिवास र आर्खेतमा तीनवटा केन्द्रहरू राखिने भएको छ । त्यसैगरी घ्याम्पेसाल, घैरुङ, वारवाक, हर्मी, सिम्जुङ, भच्चेक, सौरपानी, ठाटीपोखरी र मनकामना पनि केन्द्र राख्ने तयारी गरिएको छ । यसबाहेक सडक सञ्जाल जोडिएको ठाउँमा एक÷एकवटा स्काभेटर तयारी अवस्थामा राखिने टोलीले बताएको छ । उद्धारका लागि चाहिने औजारहरूको पनि प्रवन्ध गरिएको छ ।
गोरखामा ४० भन्दा बढी गाविसहरू वर्षाद्को समयमा भनेको बेला सदरमुकाम पुग्नसकिने अवस्था हुँदैन । घटना हुने वित्तिकै सदरमुकामबाट उद्धार टोली पठाउदा धेरै मानवीय क्षति भइसक्ने भएकाले क्षति न्यूनीकरण गर्न केन्द्रहरू स्थापना गर्न लागिएको प्रशासनको भनाइ छ । भूकम्पको केन्द्रविन्दु वारपाकको मान्द्रे, स्नानगाउँ, पोखरीगाउँ, सौरपानीको रञ्चोक, खरिबोट लप्सीबोटलगायतका ठाउँमा पनि पहिरोको उच्च खतरा रहेको भन्दै सचेतना अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । भूकम्पपछि जिल्लाका २२ गाउँका दुई हजार २१४ घरधुरीलाई पुनर्वास गराउनुपर्ने निर्णय जिल्ला दैवीप्रकोप उद्धार समितिले गृह मन्त्रालयलाई पठाएको थियो । क्षेत्र नम्बर २ र ३ का ११ गाविसका गाउँमा भूकम्पले पहिरो जाने, जमिन भासिने भएपछि गाउँ पुनस्र्थापना गराउनुपर्ने निर्णय भएको थियो । तर ती गाउँमध्ये लाप्राक पुनस्र्थापना हुने भनिए पनि अहिलेसम्म अन्य गाउँ पुनस्र्थापनाको भएको छैन ।
धमाधम बन्दै गोरखकाली मन्दिर
ऐतिहासिक र धार्मिक महìवको गोरखा दरबारमा पुनर्निर्माणको काम भइरहेको छ । गत वर्षको भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको गोरखाको पुराना ऐतिहासिक धरोहर निर्माणमा धमाधम काम भइरहेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले बताउनुभयो । पुरातत्व विभागको नियमित कार्यक्रमअन्तर्गत ८ लाख ५८ हजार रूपियाँ खर्चेर बाबा गोरखनाथ गुफाको जीर्णोद्धारको काम भइरहेको छ । गोरखनाथको रोटपाटी पुनर्निर्माणका लागि १२ लाख आठ हजार रुपियाँ टेन्डर गरेर काम भइरहेको भट्टराईले बताउनुभयो । गोरखा दरबारका वार्षिक कार्यक्रम र पुरातात्विक विभागबाट आएको रकममार्फत पसल कवल निमार्ण कार्यक्रमअन्र्तगत ६ वटा पूजाको सामग्री पसल निर्माण पनि भइरहेको कार्यालयले जनाएको छ । जसका लागि २१ लाख ५० हजार रूपियाँ छुट्याइएको भट्टराईले बताउनुभयो । भूकम्पका कारण मन्दिरको रिटनिङबाल र दरबारसम्म पुग्ने सिढी बाटो मर्मतका लागि १२ लाख ५८ हजार रुपियाँमा टेण्डर गरी काम भईरहेको छ ।
उहाँले भन्नुभयो, ‘पर्याप्त रकम नआएकाले मुख्य दरबारको काम भने लथालिङ छ । थोरै रकमले दरबार पुनर्निर्माण हुन सक्दैन । थोेरै बजेटले हुने काम भइरहेको छ । पुरातात्विक विभागले कालिका मन्दिर निमार्णका लागि ५ करोड रूपियाँ बजेट विनियोजन गरेर पनि टेन्डर प्रक्रियामा विवाद भएको भन्दै प्रक्रिया अगाडि नबढाउँदा मुख्य दरबार पुनर्निमार्णको काम ओझेलमा परेको भट्टराईको भनाइ छ । नरेन्द्र ढकालले गोरखापत्रमा लेख्नु भएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV