२५ असार २०७३, शनिबार

डा डिल्लीरमण रेग्मी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०७२ बाट क्रमशः प्रा डा तुलसीराम वैद्य र रुम टु रिडका संस्थापक जोन उड सम्मानित हुनुभएको छ ।

डा रेग्मी प्रतिष्ठानद्वारा स्थापना गरिएको सो राष्ट्रिय शान्ति पुरस्कारमा सम्मानपत्रसहित नगद राशि रु एक लाख रहेको छ भने अन्तर्राष्ट्रिय शान्ति पुरस्कारमा सम्मानपत्र मात्र रहेको छ । प्रा डा वैद्यले नेपाली इतिहासको खोज, अन्वेषणमा अतुलनीय कार्य र संस्थापक उडले पुस्तकालय स्थापना गरी पठन संस्कृतिमा प्रवद्र्धन गरेबापत ती पुरस्कार उहाँहरुलाई अर्पण गरिएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो पुरस्कार उहाँहरुलाई अर्पण गर्नुभयो । संस्थापक उडको तर्फबाट सो सम्मान दिनेश श्रेष्ठले ग्रहण गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डा तुलसी भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयका विकास समितिका सदस्य सचिव भोलाकुमार श्रेष्ठ तथा इतिहासविद् सत्यमोहन जोशीले रेग्मीको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

सोही कार्यक्रममा मन्त्री पोखरेलले निबन्ध प्रतियोगिताका विजयीलाई पनि पुरस्कार प्रदान गर्नुभएको थियो । सो प्रतियोगितामा रमेश घिमिरे, हरि पौडेल र सुरेश रावल क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV