२५ असार २०७३, शनिबार

– गीता चिमोरिया

IMG_0864
‘अनि पढेर भोलीपर्सी के बन्ने सोंच छ ?’ मलाई उनको भविष्यको योजना जान्न मन लाग्यो । हुन त ७ वर्षकी बच्चीलाई के थाहा हुन्थ्यो र भविष्यका बारेमा ? तैपनि मैले सोधें ।

‘म त ब्रम्हकुमारी बन्ने हो ।’ उनले भविष्यको योजना सुनाइन् । मैले सोंचेभन्दा बिल्कुल फरक जवाफ थियो । सामान्यतया साना केटाकेटीले भविष्यमा कि त डाक्टर, इन्जिनियर या त पाइलट बन्ने भन्छन् । उनले पनि सायद यस्तै जवाफ देलिन् भन्ने मैले सोंचेको थिएँ । तर मेरो सोचाई पुरै गलत भयो ।
भविष्यमा ‘ब्रम्हकुमारी’ बन्ने उनको सपनाका बारेमा मलाई जान्न मन लाग्यो । अनि सोधें, ‘किन ब्रम्हकुमारी बन्ने ?

 

 

के हुन्छ यो बन्यो भने ?’ उनले जवाफ दिइनन् । मैले धेरै पटक सोंधे र पनि भनिन् ।
अलि परबाट हाम्रो कुरा सुन्दै गरेकी उनकी आमाले छेवैमा आएर भनिन्, ‘लौ के भनेको ब्रम्हकुमारी बन्ने ? हुँदैन ।

हेर नानी, कि त मास्टर बन्नुपर्छ अनि हामीजस्तै थुप्रै गरीबका छोराछोरीलाई पढाउनु पर्छ । होइन भने गरीब दुःखीका कुरा सुन्दै हिड्ने पत्रकार बन्नुपर्छ । ’
आमाछोरीको कुराले म अलमलमा परें ।

७ वर्षकी छोरीको ब्रम्हकुमारी बन्ने सपना ।

IMG_9351

अनि छोरीलाई गरीब दुःखीको प्रिय बनाउने उनकी आमाको सपना ।
……………………….
उनको नाम मैले पहिले नै सोधिसकेको थिएँ, भविष्यको योजनाका बारे सोध्नुभन्दा पहिले । ‘नाम आकृति पराजुली । घर फुल्पिङकोट हो । जुगल बोर्डिङ हाइस्कुलमा टु मा पढ्छु । मनपर्ने सब्जेट साइन्स, अनि मनपर्ने सर चाहिँ मोहन सर । कम्प्युटर पढाउनु हुन्छ त्यसैले मोहन सर मन पर्छ ।’ मैले उनको बारेमा सोधेको प्रश्नहरुमा मिठो आवाजमा क्रमैसँग फटाफट जवाफ फर्काएकी थिइन्, उनले । फुल्पिङकोट कुन जिल्लामा पर्छ भन्नेचाहिँ थाहा थिएन उनलाई ।

२०७२ चैतको ५ गते सिन्धुपाल्चोकको चौतारामा घुम्दै गर्दा उनलाई देखेपछि मैले बोलाएँ, अनि कुरा गर्न थालेँ । उनलाई मैले चिनेर बोलाएको थिइनँ । यतिकै कुरा गर्न मन लागेर बोलाएको । साना बच्चाहरु खुबै मनपर्ने भएकाले नचिनेका बच्चाहरुसँग पनि बोलिरहेको हुन्छु । जुनसुकै ठाउँका बच्चा हुन्, उनीहरु बोलुन् या नबोलुन् म बोलाई हाल्छु ।
…………..
आकृतिसँग एकछिन कुरा गरेपछि म उनकी आमासँग कुरा गर्न थालें । मलाई जान्नु थियो कि, किन उनले छोरीलाई गरीब दुः खीको प्रिय बनाउन चाहेकी हुन् ? अनि मास्टर या पत्रकार नै बनाउने सपना किन देखिन् ? उनको सपनाको रहस्य त्यतिबेला थाहा पाएँ जब म उनको जिन्दगीको कथा सुन्न थालें । उनलाई आफ्नो दुःख कसैलाई सुनाउनु रैछ । थाहा छैन जीवनमा कतिलाई आफ्नो दुःख सुनाइन् । तर जब मलाई सुनाइन्, साँच्चै गाह्रो भयो निदाउन । उनको जीवनका कथाहरु लेख्ने हो भने त एउटा उपन्यास नै बन्थ्यो होला । मैले एउटा लेखमा कसरी अटाउन सक्थें र ?

IMG_9326
म सुन्न थालें उनका कथा…..उनी भन्दै गइन् । ‘घर सिन्धुपाल्चोकको माङ्खा ७ । अहिले घरमा सासु र ससुरा हुनुहुन्छ ।  देवर देउरानी काठमाडौं बस्नुहुन्छ । घर छोडेको ६ वर्ष भयो । घरमा श्रीमान हुनुहुन्न । श्रीमान नभएपछि सपोर्ट गर्ने मान्छे पनि कोही छैन । बिरामी हुँदा उपचार गर्नपनि कसैले लादैँनन् ।

घरमा बस् भन्ने पनि कोही छैन ।{ जा….पोइल जा । यहाँ नबस तेरो यहाँ को छ र ? }भनेर घरकाले भनेपछि घरमा बस्नै मन लागेनँ । एकदिन होइन, दुईदिन होइन ….सधैको मानसिक तनाबले घरमा बस्नै सकिनँ ।’ सुन्दा कुनै चलचित्रको स्क्रिप्ट जस्तै लाग्ने यी वाक्यहरु देवीमायाले आफ्नो जीवनमा भोगका पीडाहरु हुन् ।

…………………………….
उनी आफ्नो कथा भन्दै गइन्, “करेन्ट लागेर श्रीमान बित्नुभयो । विद्युत् प्राधिकरणमा काम गर्नुहुन्थ्यो । श्रीमानको मृत्युपछि प्राधिकरणले दिएको ९ लाख पैसा सबै देवरले नै खाइदिनु भयो । प्राधिकरणले दिएको ९ लाख रुपैयाँमा एक रुपैयाँ पनि मैले देख्न पाइनँ । सायद यहि पैसा दिनुपर्छ भनेर होला मलाई पोइल जा भनेका । मामा ससुराको छोरीलाई श्रीमति बनाएछन्, उनकी छोरीलाई छोरी बनाएर पैसा निकालेर ल्याएछन् । तीन महिनापछि मात्रै थाहा पाएँ यो कुरा । तर हिम्मत हारेको छैन, एउटा छोरीलाई जसरी नि पढाउँछु । ” देवीमायाको कथा सुन्दैगर्दा मेरो आवाज आफैं रोकियो । म सुन्न मात्रै थालें ।

हुन त श्रीमान् हुँदा पनि उनले सुख भने पाइनन् । धेरैजसो बाहिरै बस्ने भएकाले उनका आनीबानी पनि थाहा छैन, देवीमायालाई । श्रीमानले खासै वास्ता गर्दैन थिए । खाए पनि भोकै बसेपनि, के खाइस् ? भनेर सोध्दैन थिए । श्रीमानको माया कस्तो हुन्छ भनेर अनुभव गर्न पाइनन्, उनले । २०६६ मा नुवाकोटको त्रिशुलीमा काम गर्दै गर्दा करेन्ट लागेर उनका श्रीमानको ज्यान गयो । त्यतिबेला छोरी एक वर्षकी मात्रै थिइन् । बिवाह भएको दुई वर्षमै श्रीमानको साथ छुट्यो, त्यो पनि सदाको लागि ।

लामो सुस्केरा हाल्दै आठ वर्ष अघि फर्किइन् देवीमाया, जतिबेला उनको लगनगाँठो कसिएको थियो । सायद त्यो गाँठो बेसकन कसिएन छ क्यार । पुरापुर दुई वर्षपनि हुन नपाई चुडियो, गाँस्नै नमिल्ने गरी । हुन त त्यतिबेला पनि आफ्नो रहरले त बिहे गरेको होइन । उनले भनिन्, “गाउँघरको समाज त्यस्तै हो । केही थाहा थिएन त्यतिबेला, बच्चैजस्तो थिएँ । बिहे गर्दिनँ भन्दाभन्दै आमाबुवाले कर लगाएर बिहे गर्दिनु भयो ।” बेहुली बन्दा उनी १७ वर्षकी मात्रै थिइन् ।

टेस्ट परीक्षा सकेर एसएलसी दिइन्, एसएलसीमा ब्याक लाग्यो । त्यसपछि पढ्न छोडिन् । त्यही वर्ष बिहे भयो । सँगैका साथी अहिले पनि पढ्दैछन् । धेरैको त बिहे पनि भको छैन । कतिले सरकारी जागिर खाएका छन्, कोही एनजीओ÷आएइनजीओमा काम गर्छन् । उनीहरुलाई देख्दा देवीमायालाई पछुतो लाग्छ । चाडै बिहे गरेछु, धेरै पढ्न पर्ने रैछ भन्ने कुराले चिथोरिरहन्छ । कम्तीमा एउटा जागिर खाएर मात्रै बिहेको कुरा सोंचेको भए अहिले दुःख हुँदैन थियो भन्ने लाग्छ ।

………………………………….
उनी अहिले सदरमुकाम चौतारामा कोठा लिएर बस्दि आएकी रहिछिन् । छोरी पढाउन । “अलिअलि खर्च माइतबाट आमा बुवाले पठाइदिनु भाछ । कहिलेकाही भाइले पठाईदिन्छ । कहिलेकाही अरुकोमा काम गर्न जान्छु, त्यसरी नै चलिराछ । माइत फुल्पिङ्कोट २ । घरबाट निस्केपछि माइतमै बस्थें । अनि अहिलेचाहिँ छोरी पढाउन सदरमुकाममा कोठा लिएर बसेको । अस्तिको भुकम्पले लान्छ होला जस्तो लागेको थियो, तर लगेन । भुकम्पका बेला त आफन्त कसैलाई केही भएन तर भुकम्पका कारण मानसिक रुपमा बिछिप्त हुनुभएको दाइले दुई महिनापछि आत्महत्या गर्नु भयो । दुईजना दाजुभाई थिए, अब एउटा भाई मात्रै छ । माइतमा पनि आमा बुवा मात्रै हुनुहुन्छ, अहिले ।भाइबुहारी काठमाडौं बस्छन् । ” उनले आफ्नो खर्च देखि माइतिसम्मको सबै कुरा सुनाइन् ।

उनले मलाई आफ्नो पुरै कहानी सुनाउन भ्याएकी थिइनन् । यतिकैमा उनलाई कतै जानुपर्ने भयो । मसँग बिदा मागिन् । मैले हतार हतार उनको फोन नम्बर मागें र उनलाई बिदा दिएँ । रोकेर राख्न पनि त सक्दैन थिएँ । साँझ पर्दै गयो, सबैजना बास बस्ने जोह गर्न थाले । मलाई भने छट्पट्टी बढ्दै गयो । देवीमायासँगको भेट र दिउँसो उनीसँग भएको कुराले चिमोटिरह्यो । उनलाई भेट्न जाउँकी जस्तो लाग्यो । फोन गरें, “दिदी तपाईको कोठामा आउन मिल्छ ?” मिल्छ भनेपनि म उनको कोठासम्म पुगें ।

………………………………..
एउटा सानो कोठा, सिंगल बेडजत्रो खाट । एकापट्टी किचन र्याक, छेवैमा ग्यासको सिलिन्डर, किचन र्याकमाथी चुलो । अलि माथी झुन्ड्याएको र्याकमा केही थान भाडा । पल्लापट्टि अर्को खाटमाथी केही लुगाका पोका र बोराहरु थिए । भित्ताहरुमा थुप्रै भगवानका फोटोहरु । हरेक दिन सुनाउँदिहुन्, ति भगवानका फोटाहरुलाई आफ्नो पीडा । नजाने, सुन्छन् कि सुन्दैनन् । म कोठामा पुग्दा आकृति पढ्दै रैछिन्, अंग्रेजीको एउटा कविता । नेपालीमा उल्था गरेर मलाई पनि सुनाइन् । आकृतिले मलाई कविता सुनाइरहँदा देवीमायाका मुहारमा देखिएको उज्यालोले म मनमनै खुशी भएँ । तर बाहिर मुस्कुराइनँ ।

म पुग्नेबित्तिकै दिदीले चिया पकाइन्, पदैन भन्दाभन्दै । चियासँगै एक प्याकेट बिस्कुट पनि दिइन् । मैले भनें, “दिदी म पाहुना होइन नि, यति धेरै सत्कार गर्नुपर्दैन के । ” बिस्कुट खाइनँ । भोली नानीलाई स्कुल जानेबेलामा खाजा पठाइदिनु होला भनें । आकृति पढ्ने बोर्डिङ उनीहरुको कोठा नजिकै रहेछ । उसैले देखाई । दिदीले चियामा चिनी धेरै नै हालिछिन्, निकै गुलियो भएछ । तर उनका कथाहरु आँसु मिसिएका नुनिलाथिए । म एकैपटक दुईवटा स्वाद लिदै थिएँ । चियाको गुलियोलाई आँसुको नुनिलोले जित्यो । हामीले फेरि कुरा सुरु गर्यौं ।

………………………….
श्रीमानको मृत्यु, घरपरिवारबाट पनि हेला । केही वर्ष उनले रोएरै बिताइन् । भन्न त मान्छेहरु आँसुले जीवनका पीरहरु बगाएर लान्छ भन्छन् । तर यो कुरा विश्वास लाग्दैन, देवीमायालाई । वर्षौसम्म उनले बगाएका आँसुले पीरहरु त बगाएर लगेन नै, त्यही आँसुले रोगको भारी पनि बोकाएर गयो । धेरै रुँदारुँदा एकप्रकारले उनी मानसिक रोगी नै बनिन् । बेस्सरी रोएर कमजोर भइन् । बिहेअघि केही रोग थिएन । जिल्लामा उपचार गर्दा निको नभएपछि टिचिङ र बीएनबीमा पनि देखाइन् । सबै ठाउँमा डाक्टरले चिन्ताले हो धेरै चिन्ता नलिनु । नरुनु भने । चाहँदैमा चिन्ता नलिइने भए त कहाँ रहर थियो र देवीमायालाई ? तर आँसु बगाएर मात्रै पनि त समस्या टर्दैन रैछ । यही सोंचेर हिजोआज रुन्नन्, उनी । “के गर्नु बहिनी जति रोएपनि आफ्नो पीर आफैंसँग छ । आँसुसँगै पीर जादैन रैछ । ” हिजोआज आफैंले आफैंलाई सम्झाउँछिन्, उनी । छोरीलाई हेर्छिन् र मुस्कुराउँछिन् ।

उमेरले हिसाब गर्ने हो भने त भर्खर बिहे गर्ने बेला भएको छ, देवीमायाको । २५ पूरा भएर २६ लागिन् । तर यही उमेरमा उनले जीवनका थुप्रै अप्ठ्याराहरु पार गरिन् । धेरै भूमीका निर्वाह गरिसकिन् । खुड्किलाहरु चढिन् कतै लडिन्, कतै अघि बढिन् । छोरीबाट बुहारी भइन्, कसैको श्रीमति बनिन् । आमाजु भइन्, भाउजुको भूमीका पनि निभाइन् । आमा बनेर छोरीलाई भएभरको सबै माया दिइन् । जति भूमीका फेरिए पनि उनको जीन्दगी फेरिएन । दुःखले साथ छोडेन ।

……………………………
श्रीमानको मृत्युपछि प्राधिकरणले दिएको पैसा पाउनको लागि प्रशासनमा निवेदन दिइन्, सहयोग माग्दै महिला विकास कार्यालयमा पुगिन् । तर कतैबाट पनि सहयोग पाइनन् । “त्यतिबेला महिला विकासमा अन्जु ढुङ्गाना हुनुहुन्थ्यो । उनले सम्झिइन्, “ सुरुमा त सहयोग गर्छु भन्नुभाको थियो पछि त आफ्नै परिवार हो मिलेर बस्नु भन्नु भयो । ” देवरले सबै पैसा लिएर हिड्नु भयो, म कोसँग मिलेर बस्ने ? प्रश्न गर्छिन्, देवीमाया । “प्रहरीले पनि सघाएन, देवरले पैसा खुवाइदिनु भयो क्यारे ! नत्र त मैले न्याय पाउनपथ्र्यो । ” शंका लाग्छ देवीमायालाई प्रहरीसँग पनि ।
भूकम्पपछि त सिन्धुपाल्चोकमा थुप्रै एनजीओ÷आइएनजीओ खुलेको छ त दिदी, कतै ट्राई गर्नु भको भए जागीर पाइन्थ्यो कि ? मैले सुझाए उनलाई । “आ….बहिनी…….संस्था त थुप्रै छन् नि, यही चौतारामा वल्र्ड भिजन, सेभ द चिल्र्डेन, युनिसेफ, अफ्सन नेपाल जस्ता थुप्रै संस्था छन् । सबैले आफ्नैलाई जागिर लगाउँछन् । आफ्नो बोल्दिन मान्छे कोही छैन । हामी कोही नहुनेलाई कसले दिन्छ काम ? धेरै ठाउँमा प्रयास गरें, सबैले आश्वासन मात्रै दिन्छन् ।” उनलाई थुप्रै संस्थाको नाम कण्ठै रैछ । “केही सिप सिकौं, काम गरौं जस्तो त लाग्छ नि तर भारी काम गर्न सक्दिनँ ।” उनले भनिन्, “अलि पहिला एउटा तालिम आको थियो, विद्युत् सम्बन्धी । दुई महिनाको त्यो तालिम लिएपछि वाइरिङको काम सबै गर्न आउँछ । वल्लो घर पल्लो गर बोलाको ठाउँमा गएर बिग्रेको बत्ति बनाइदिन्छु । तर पैसा लिएर अहिलेसम्म काम गरेको छैन । ”

……………………………..
कुरा गर्दागर्दै अबेला भयो । “आज यतै बसौं बहिनी ।” उनकै कोठामा बस्न अनुरोध गरिन् दिदीले । सिंगल बेडको खाटमा आमाछोरी कसरी अटाउछन् थाहा छैन, त्यसमा  म पनि के थपिनु । “होइन दिदी म जान्छु ।” मैले नबस्ने कुरा गरें । साथीहरुसँग खेल्न गएकी आकृति हामी कुरा गर्दागर्दै आइपुगिन् । उनको चिया सेलाइसकेको थियो । गिलासभरीको चिया घटघट पिइन् । “दिदी म कुन बाटो जानुपर्छ ?” मैले उनको कोठाबाट म बस्ने होटलसम्म आइपुग्ने बाटो देखेको थिइनँ । “नानीले पुर्याईन्छिे ।” छोरीतिर देखाउँदै दिदीले भनिन् । “नानी दिदीलाई अलि पर बाटोसम्म पुर्याइदेर आउँ ल । ” उनले छोरीलाई अह्राइन् । आकृतिलाई अघि लाउँदै म हिडें । “दिदी म गएँ, फेरि आउँदा भेटौला है ! धेरै पीर नलिनु, सबै विस्तारै ठीक हुँदै जान्छ । ” मैले बिदा मागें दिदीसँग । उनले हाँस्दै भनिन्, “ जति पीर लिनु लिइसकें नानी, अब जसरी हुन्छ यही छोरीलाई पढाउने हो । यसैले पाल्छे त होला नि पछि ।” मैले आकृतितिर हेरेर भनें, “ममीलाई पाल्छौ नि भोलिपर्सी ?” उनले मुन्टो हल्लाइन् । दिदी मुस्काइन्, उनीसँगै म पनि मुस्कुराएँ ।

मैले बाटोमा आकृतिसँग फेरि सोधें, “ नानी नढाटी भन त भोलीपर्सी के बन्ने ? ” “म त ब्रम्हकुमारी नै बन्ने हो दिदी । ” उनी आफ्नो निर्णयमा अडिग थिइन् । मैले भनें “हुन्छ, तिमीलाई जे मन लाग्छ त्यही बन्नु । तर ममीलाईचाहिँ पाल्नुपर्छ नि । राम्रोसँग पढ है ! ” उनले ‘हुन्छ’को संकेतमा टाउको हल्लाइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV