
अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन आज नेपालभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाएका छन् ।
दसौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेबइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुसीपूर्वक शरीरको दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन बुधबार बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फित्र मनाइएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो ।
“बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठ गरेपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु भएको छ, यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनुभएको हो”– उहाँले भन्नुभयो । यस पर्वमा मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचत साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ, सलाई जकात भनिन्छ ।
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । यस पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको थियो । रासस