२२ असार २०७३, बुधबार

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेको जिल्लाकै पुरानो सखुवा महेन्द्रनगर पशु बजारलाई १७ करोडको लागतमा आधुनिकीकरण गरिने भएको छ । धनुषाको पुरानो पशु बजारको रुपमा रहेको सखुवा महेन्द्रनगर बजार संरक्षणको अभावमा जीर्ण बनेपछि विश्व बैंकको सहयोगमा व्यवसायी कृषि आयोजना (प्याकट)ले आधुनिकीकरण गर्न लागेको हो ।
प्रत्येक साताको मंगलबार र शनिबार दुई दिन लाग्ने उक्त पशु बजारको आधुनिकीकरणका लागि अध्ययन अवलोकन कार्य सम्पन्न भईसकेको जिल्ला पशु कार्यालय धनुषाका वरिष्ठ पशु चिकित्सक शम्भु साहले जानकारी दिनुभयो । बजार आधुनिकीकरणका लागि टेन्डर भईसकेको र छिट्टै निर्माणको काम सुरु गरिने पनि पशु कार्यालयले जनाएको छ ।
उचित संरक्षण हुन नसक्दा जीर्ण बनेको सखुवा महेन्द्रनगर पशु बजारमा मासु प्रशोधन केन्द्र, डिस्पोजल किट, चिकित्सा किल्निक, खानेपानी, पशु चेकजाँच पोष्ट, गाई, भैँसी, गोरु, रांगा, बाख्रा, खसी–बोका लगायतका पशुहरुका लागि सेज निर्माण गर्न लागिएको वरिष्ठ पशु चिकित्सक साहले बताउनुभयो । कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले पशु बजारलाई आधुनिकीकरण गर्न लागिएको छ । धनुषाको पुरानो बजार भएपनि यसको संरक्षण गर्न सम्बन्धित निकायले चासो नदिएपछि पशु बजार फोहोर तथा दुर्गन्धित बनेको स्थानीयको गुनासो छ । अहिले आएर बजार आधुनिकीकरण गर्ने भएपछि स्थानीयहरु निकै उत्साहित भएको नेपाली कांग्रेस स्थानीय नेता योगेन्द्र पंजियारको भनाई छ ।
पहिले सो बजारमा हात्ती, घोंडा लगायतका पशु चौपायाको कारोबार हुने गरेको थियो । स्थानीय राजनीतिकर्मी रामनरेश सिंहले भने पछि आएर गोरु, गाई, भैँसी, राँगा, बाख्रा, खस्सी, बोका लगायतका पशुहरुको कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV