२१ असार २०७३, मंगलवार

राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा बुधबार दूग्ध खाद्य महोत्सव हुने भएको छ ।

बोर्डले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त महोत्सवमा काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीलाई निःशुल्क दूध तथा दुग्धजन्य पदार्थको सेवन गराई कार्यक्रम गरिने जानकारी दिएको हो ।

बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले मुलुकमै यस्तो फेस्टिबलको आयोजना गर्न लागिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “दूध एक पूर्ण खाद्य पदार्थ हो । यसमा शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइन्छ । त्यसैले बाल्यकालदेखि नै दूध पिउने बानी लगाउन सक्यो भने उमेर बढ्दै जाँदा त्यसले फाइदा पु¥याउँछ ।”

सरकारले प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोगको मापदण्ड तोके पनि अहिले प्रतिव्यक्ति ६४ लिटर उपभोग हुने गरेको बोर्डको तथ्याङ्क छ । दुग्ध विकास संस्थानमा दैनिक दुई लाख २५ हजार लिटर कच्चा दूधको माग हुनेमा दुई लाख ७५ हजार लिटर दूधको आपूर्ति हुने गरेको छ । यसैगरी निजी उद्योगमा प्रतिदिन पाँच लाख ५० हजार लिटर कच्चा दूध माग हुँदै आएकामा छ लाख लिटरको आपूर्ति हुने गरेको तथ्याङ्क बोर्डको छ ।

कुल उत्पादनको १५ प्रतिशतमात्र औपचारिक क्षेत्रबाट खरिद बिक्री हुँदै आएको छ भने ३५ प्रतिशत निजीस्तरमा मिठाइ पसल, चिया पसल, लज÷रेस्टुराँमा खपत हुन्छ । बाँकी ५० प्रतिशत भने किसान आफैँले उपभोग गर्दछन् ।

उद्योगीले सङ्कलन गरेको दूधमध्ये करिब ९५ प्रतिशत दूध प्रशोधित दूधका रुपमा बिक्री वितरण हुन्छ भने बाँकी दुग्ध पदार्थका रुपमा आइसक्रिम, चीज, खुवा, पेडा, बर्फी, पनिरलगायत बनाइ बिक्री वितरण गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV