२१ असार २०७३, मंगलवार

आपूर्तिमन्त्री गणेशमान पुनले कालिमाटीको तरकारी उपभोक्ताको हित विपरीत रहेको भन्दै व्यवस्थापन र सरसफाइमा ध्यान दिन व्यापारीलाई निर्देशन दिनुभएको छ ।

गुणस्तर तथा नापतौल विभाग र आपूर्ति व्यवस्था विभागले आज संयुक्त रुपमा गरेको अनुगमनमा सहभागी हुँदै मन्त्री पुनले बजारमा गुणस्तरहीन खाद्य वस्तु रहेको र त्यसले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सरकारले अब निरन्तर अनुगमन गर्ने बताउँदै उहाँले व्यापारीलाई दीर्घकालीन रुपमा समस्या समाधानको उपाय खोज्न आग्रह गर्दै तीन दिनभित्र फोहर व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

कुहिएको र सडेगलेका तरकारी तथा फलफूल काठमाडौँमा ल्याउँदा त्यसले थप विकराल समस्या ल्याउने भएकाले त्यस्ता सामग्री नल्याउन पनि मन्त्री पुनको आग्रह छ । अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेले उपभोक्ताको हित संरक्षणका लागि विभागले निरन्तर रुपमा अनुगमन गरिरहेको र उपभोक्ता हित विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुका निरीक्षक कमल ओझाले प्रत्येक दुई वर्षमा आफ्नो तरकारी जोख्ने सामानको जाँच गर्न आग्रह गर्नुभयो । मन्त्रीसहितको अनुगमन टोलीले कालिमाटीमा रहेको तरकारी, माछा र बल्खुमा रहेको फलफूल पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा फलफूल व्यापारीले सामान आयात गर्ने जिल्लाबाट काठमाडौँसम्म ल्याउँदा विभिन्न स्थानमा लाग्ने करमा सहुलियत दिन मन्त्रीलाई अनुरोध गरेका थिए । फलफूल तथा तरकारी व्यापार महासङ्घका महासचिव रुद्र पाठकले बल्खुमा रहेको फलफूल पसलको उचित व्ययवस्थापनमा सहयोग गर्न सरकारसँग आग्रह गर्नुभयो । रासस

LIVE TV