२१ असार २०७३, मंगलवार

पछिल्लो समय बाँकेका किसानहरु बेमौसमे तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारीको तुलनामा बेमौसमी तरकारी खेतीबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरु बेमौसमे तरकारी खेती तर्फ आकर्षित भएका हुन् ।

बेमौसमे तरकारी खेती गर्दा तरकारीको मुल्य भने जस्तो पाईने र गरेको परिश्रम खेर नजाने भएपछि विगत ४ वर्ष देखि आफूले बेमौसमे तरकारी खेती गर्दै आइरहेको बाँके नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर २१ का मोहैयादिन कबडियाले बताउनुभयो । विगत २० वर्ष देखि तरकारी गर्दै आउनुभएका उहाँले ५ वर्ष सम्म परम्परागत तरकारी खेती र ११ वर्ष देखि व्यवसायीक तरकारी खेती गर्दा सोचे जस्तो आम्दानी नभएपछि विगत ४ वर्ष देखि बेमौसमे तरकारी खेती गरि राम्रो आम्दानी गरिरहनुभएको छ । कबडियाले एक सिजनमा न्यूनतम  डेढ लाखरुपैया सम्म खुद् बचत गर्ने र वार्षिक तरकारी खेतीबाट ५ लाखभन्दा धेरै रकम बचत गर्ने गर्नुभएको छ ।
त्यसै खेर गइरहेको बगरमा बेमौसमे तरकारी खेती गर्न सकिने भएपछि बाँके कचनापुरका वडा नं. ४ का छुन्नु चौधरीले विगत ३ वर्षदेखि बगरमा काँक्रा, लौका, फर्सी लगायतका तरकारी लगाइ त्यसबाट आएको आम्दानीबाट ६ जनाको परीवार पालिरहनुभएको छ । बाँकेमा बेमौसमे तरकारी खेतीका लागि सम्भावना धेरै भएपनि सिचाइका लागि पानीको भने समस्या हुने गरेको उहाँले बताउनुभयो ।
बाँकेमा अहिले व्यवसायीक तरकारी खेती गर्ने किसानको संख्या  ५ सय ५ जना मध्ये ३ सय बढिले बेमौषमी तरकारी खेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यलयका बागबानी विकास अधिकृत चुर्तुभूजी चौधरीले जानकारी दिनुभयो ।
परम्परागत कृषि प्रणालीबाट किसानको आर्थिक स्तरउन्नती हुन नसकेपछिसरकारले बाँके सहित मध्य र सुदुरपश्चिमका १० जिल्लामा कृषि विकास मन्त्रालय अन्तरगतको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना सञ्चालन गरी विभिन्न शिर्षकमा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । बाँकेमा पनि मौषमी तथा बेमौषमी तरकारी खेतीका लागि किसानहरुलाई सहयोग गरिरहेको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका निर्देशक गोकर्ण अर्यालले बताउनुभयो ।
बाँकेमा हाल यस आयोजनाले जयसपुर, वनकटवा, रझेना, चिसापानी नेपालगन्जका साना तथा मझौला किसानहरुलाई सहयोग गरिरहेको छ ।  ०००

LIVE TV