
धनुषाको गणेशमान चारनाथ नगरपालिकाले ९० वर्ष माथिका बृद्धबृद्धालाई सम्मान गरेका छन् । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर ३२ बृद्धबृद्धालाई सम्मानित गरेको हो ।
९० वर्षमाथिका जेष्ठ नागरिकहरुको संख्या ज्यादै न्यून रहेको समयमा गणेशमान चारनाथ नगरपालिकाले नगरपालिकाभित्रका ३२ जना बृद्धबृद्धाहरुलाई सम्मानित गरेको हो । नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवले एक कार्यक्रमकाबीच बृद्धबृद्धाहरुलाई दोसल्ला र नगद २ हजार सहित सम्मानित गर्नुभयो । सम्मान ग्रहण गर्दै धनुषा विरेन्द्रबजारका १ सय ७ वर्षका बुध्दविर वलंपाकी मगरले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवले जेष्ठ नागरिक सम्मानका लागि अक्षय कोषको स्थापना गर्नु पर्नेमा जोड दिनुभयो । बढ्दो आधुनिकीकरणले आप्mनै सन्तानबाट समेत जेष्ठनागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै वैदेशिक रोजगारले जेष्ठ नगारिकहरु थप पीडित बनेको बताउँनुभयो । त्यसैले जेष्ठ नागरिकहरुका लागि सरकारले छुट्टै नयाँ नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले सरकारले जेष्ठ नागरिकहरुलाई उपलब्ध गराउंदै आएको सेवासुविधा अझै बढाउनुपर्ने मांग गर्नुभयो । जेष्ठनागरिकहरुको समस्या अत्याधिक रहेकाले सरकारले सम्मान स्वरुप उपलब्ध गराउंदै आएको रकम ज्यादै न्यून रहेको उहाँको कथन थियो ।