२० असार २०७३, सोमबार

करिब ४३ प्रतिशत अपराध गरिबी र आर्थिक समस्याका कारण हुने गरेको पाइएको छ । यसैगरी मादक पदार्थ सेवन गर्नेहरुबाट करिब १५ प्रतिशत अपराध हुने गरेको छ । त्यस्तै ४२ प्रतिशत पीडितहरुले डर धाक धम्कीका कारण उजुरी नगर्ने गरेको पाइएको छ ।

कानुनी झंझटका कारण २५ प्रतिशत जनताले उजुरी नै नगर्ने गरेको तथ्यांक कानुन, न्याय तथा संसदीय मामिला मंत्रालयले गराएको अपराध सम्बन्धी बेसलाईन सर्वेक्षणमा उल्लेख छ ।
अपराध सम्बन्धी बेसलाइन सर्वेक्षण बारे जानकारी दिन विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले अपराध नियन्त्रणका लागि सर्वेक्षणलाई आधार बनाई कानुन निर्माण गरिनुपर्ने सुझाव दिएका छन्  । उनीहरुले अहिले पनि अपराध गर्ने भन्दा अपराधी जोगाउने संख्या बढेकोले यस तर्फ राज्य सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कानुन, न्याय तथा संसदीय मामिला मंत्रालयले आयोजना गरेको सो कार्यक्रममा पूर्वाञ्चलका पूनरावेदन अदालतका न्यायाधीशहरु,  १६ जिल्लाका जिल्ला न्यायाधीशहरु, रजिष्ट्रार, श्रेष्तेदार, सरकारी वकिल र बार एसोसिएशसनका प्रतिनिधिहरु सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले जनतालाई न्याय प्रणाली प्रति विश्वास बढाउन सरोकारवालाहरुले बेसलाइन सर्वेक्षणका तथ्यांकहरुलाई मनन गर्दै चिन्ता र चासोको रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अपराध नियन्त्रणका लागि सजायमुखी भन्दा न्यायमुखी हुनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV