१७ असार २०७३, शुक्रबार

रत्ननगर (चितवन),  असार । चितवनको चन्डिभञ्याङ–९ स्थित पाँच किलो भन्ने स्थानमा माथिबाट खसेको ठूलो ढुङ्गोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ ।

भारी वर्षासँगै खसेको ढुङ्गा सडकमा तेर्सिंदा आज बिहान ५ः५० बजेदेखि सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सो क्षेत्रमा ढुङ्गा खसेको र अन्य ठाउँठाउँमा पहिरो खसेकाले अहिले मुग्लिन र नारायणगढबाट दुईवटा डोजर तथा लोडरसहित प्रहरी पठाइएको छ । वर्षा जारी रहेकाले पहिरो पुनः खस्ने डर रहेको जनाइएको छ ।

सडक बन्द हुँदा उक्त खण्डमा गाडीको लामो लाइन लागेको छ । केही दिनअघि पहिरोले यहाँ एउटा कार नै पुरेको थियो । गाडी रोकिँदा पहिरोले गाडी नै पुर्ने जोखिमसमेत बढ्दोछ ।
munglin
सामान्य पानी पर्दासमेत सो क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएकाले वैकल्पिक मार्ग अपनाउन चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले सबैमा आग्रह गर्नुभएको छ । नारायणगढ –मुग्लिन सडक आयोजनाले पनि केही लामो भए पनि बर्सातको समयमा वैकल्पिक मार्ग अपनाउन अपिल गरेको छ ।

यहाँ आयोजनाले सडक विस्तारका लागि विभिन्न क्षेत्रमा खनेकाले सोही क्षेत्रमा पानी पर्दा पहिरो खस्दै आएको छ । दैनिक सात हजारभन्दा बढी सवारी चल्ने सो सडकखण्ड बन्द हुँदा चितवनबाट काठमाडौँ, पोखरा क्षेत्र जाने आउने सवारी पूर्णरुपमा रोकिन्छन् । रासस

LIVE TV