१४ असार २०७३, मंगलवार

उदयपुर, नेपाल सरकारका सिँचाइ मन्त्री उमेश यादवले उदयपुर जिल्लाका विभिन्न नदीकटान जोखिम क्षेत्रका गाउँघरमा नदी कटानले गाउँ, बस्ती क्षति हुन नदिइने बताउनुभएको छ ।

आज तराईको सिरहा हुँदै नदी कटान र यसको क्षतिका बारेमा अवलोकन तथा अनुगमन गर्दै उदयपुरको गाईघाट आइपुग्नुभएका मन्त्री यादवले गाईघाटस्थित नेकपा ९माओवादी केन्द्र०का पार्टी कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

जिल्लाका नदीकटान पीडित जनतालाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो – “सरकार र आफ्नो मन्त्रालयले तत्काल नदी कटानबाट जोखिममा परेका गाउँको अनुगमन गरेर त्यसको नियन्त्रण गर्नेतर्फ कदम चाल्नेछ, मानवीय क्षति कुनै पनि हालतमा हुन दिने छैनौँ ।”

umesh-yadav-4

उदयपुरको त्रियुगा नगरपालिका गाईघाटदेखि जिल्लाको पूर्वी क्षेत्रको तपेश्वरीसम्म व्यापकरुपमा त्रियुगा नदीलगायत अन्य नदीबाट बर्खा लागेसँगै गाउँघर कटान भई जोखिममा पर्न थालेपछि मन्त्री यादव सो गतिविधिको अनुगमन र निरीक्षण गर्न आज उदयपुर आइपुग्नुभएको मन्त्रीका स्वकीय सचिव मातृका भट्टराईले बताउनुभयो ।

नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री यादवले सो पार्टीको जिल्ला पार्टी कार्यालयमा जिल्लाका नदी कटानमा परेका तपेश्वरी, त्रियुगा नगरपालिका, रामपुर ठोक्सिला, जोगिदह, हँडिया र सुन्दरपुरका पीडित जनतासँग भेटघाटसमेत गरेको नेकपा ९माओवादी केन्द्र० उदयपुरका संयोजक भीम अधिकारीले बताउनुभयो ।

आज र भोलि दुई दिन मन्त्री यादवले जिल्लाको त्रियुगा नगरपालिकादेखि पूर्वको तपेश्वरीसम्मका नदी कटान भूभागको निरीक्षण र अनुगमन गर्ने कुरा नेकपा ९माओवादी केन्द्र० उदयपुरले बताएको छ ।

तत्काल मानवीय क्षति हुने खतरा रहेका स्थान र गाउँमा नदी कटान नियन्त्रणको पहल सुरु गर्नेसमेत मन्त्री यादवले बताउनुभएको छ । रासस
––––––––

प्रतिक्रिया दिनुहोस्
LIVE TV