१२ असार २०७३, आईतवार

उर्लाबारी, मोरङ –  मोरङको मधुमल्लामा नुनसरी बक्राहा खोला गाउँ पसेर विस्थापित बनेकाहरु अझै पनि घर फर्कन सकेका छैनन् ।

खोला गाउँ पसेपछि मधुमल्लाको ४, ५, ६, ७ र ८ नम्बर वडाका दुई सयभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । बाढीले विस्थापित बनेकाहरु आफन्त र छिमेकीको शरणमा पुगेका छन् ।

morang

अझै पनि वर्षा भइरहेका कारण ढुक्क भएर घर फर्कन नसकेको मधुमल्ला–४ का प्रेम मगरले बताउनुभयो । उहाँले भन्नुभयो – “वर्षा भइरहेको छ, खोला फेरि कतिखेर गाउँ पस्ने हो डरले घर फर्कन सक्ने अवस्था छैन । मधुमल्लामा नुनसरी बक्राहा खोला बाँध फुटेर गाउँमा पसेपछि स्थानीयवासीमा एक प्रकारको त्रास उत्पन्न भएको छ ।”

धेरै समय वर्षा हुनेबित्तिकै खोलामा बाढी आएर गाउँ पस्ने गरेका कारण स्थानीयवासी ढुक्क भएर घर फर्कने अवस्था नभएको हो । गतवर्ष पनि सोही खोलाको बाँध फुटेर गाउँ पसेपछि वर्षाको अवधिभर स्थानीयवासी छिमेकी, आफन्त र नजिकको विद्यालयमा शरण लिन पुगेका थिए ।

सो खोलाले बगाएर यसवर्ष मात्र दुई जनाको मृत्यु भइसकेको छ । गत असार ८ गते मधुमल्ला–४ स्थित घरबाट बक्राहा खोला तरेर मधुमल्ला बजार आउने क्रममा खोलाले बगाउँदा ४५ वर्षीय रामप्रसाद गौतमको मृत्यु भएको थियो भने एक महिनाअघि पहिचान हुन नसकेका एक पुरुषको शव खोला किनारमा भेटिएको थियो ।

खोलामा स्काभेटर लगाएर खोला गहि¥याउँदै बस्तीपट्टि बालुवाको डिल बनाउने काम बर्सेनि भइरहेको छ । तर खोला अग्लो र बस्ती होचो भएकाले समस्या भइरहेको हो । गाउँमा पसेको खोला पुरानै ठाउँमा फर्काउन स्थानीयवासीले प्रयास गरिरहेका छन् । रोप्न ठिक्क पारेको खेतका लागि राखेको बीउसमेत बगाएपछि रोपाइँ गर्न सकिने खेत पनि त्यसै रहने अवस्था आएको स्थानीयवासी शेरबहादुर मगरले बताउनुभयो । रासस

LIVE TV