११ असार २०७३, शनिबार

काठमाडौँ,  नेपाल परिवार दल दोस्रो राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

व्यवस्थापिका–संसद्मा दुई स्थान रहेको उक्त दलको यही असार २१ र २२ गते काठमाडौँमा महाधिवेशन हुँदैछ । महाधिवेशनलाई केन्द्रित गरेर पार्टीका सबै कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै अध्यक्ष एकनाथ ढकालले यही असार १५ गतेभित्र सबै जिल्ला अधिवेशन र प्रदेश भेला सम्पन्न गर्ने काम तीव्र रुपले भइरहेको बताउनुभयो ।

Eknath-Dhakal1

महाधिवेशनमा देशभरिबाट एक हजार २०० प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिने अध्यक्ष ढकालले जानकारी दिनुभयो । मुलुकका २४० निर्वाचन क्षेत्र र ७५ वटै जिल्लामा सङ्गठन रहेको उक्त पार्टीको एक लाख सदस्य र ३२ हजार क्रियाशील सदस्य रहेको बताइएको छ । समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद्मा दुई स्थान प्राप्त गर्न सफल उक्त पार्टीको निर्वाचन चिह्न साँचो रहेको छ ।

संविधानसभाको पहिलो निर्वाचनभन्दा केही महिनाअघि स्थापित उक्त पार्टीको पहिलो अधिवेशन २०६७ सालमा भएको थियो । ‘असल परिवार समृद्ध नेपालः अग्रपन्थी लोकतन्त्र’ मूलमन्त्र रहेको परिवार दलले मुलुकमा वैकल्पिक लोेकतान्त्रिक शक्ति बन्ने प्रयासमा रहेको जिकिर गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV