रामपुर, पाल्पा, पाल्पाको दोस्रो मुख्य व्यापारिक केन्द्र रामपुरमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । सदरमुकाम तानसेनदेखि झन्डै ६५ किलोमिटरको दुरीमा रहेको रामपुरमा लामो समयको प्रयास पछि इलाका प्रशासन कार्यालय शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
कार्यालय स्थापनाका अवसरमा यहाँका– ६ व्यक्तिले नेपाली नागरिकताको परिचयपत्र गाउँबाटै लिएका छन् । यस क्षेत्रका नागरिकलाई नेपाली नागरिकता, पासपोर्ट बनाउन पहिला गाडीमा एक दिनको समय लगाएर जानुपर्ने बाध्यता अब हटेको छ ।
छोरीको नागरिकताको प्रमाणपत्र बुझ्दै गर्नुभएकी रामपुरकी डिलमाया पाण्डेले नागरिकता बनाउन पहिला एक दुई दिन लगाएर सदरमुकाम जानुपथ्र्यो, अहिले दुरी छोटियो र खर्च पनि बचत भएको बताउनुभयो ।
यस कार्यालयबाट रामपुर नगरपालिकासहित पूर्वी पाल्पाका सात गाविसका जनताले नेपाली नागरिकता, पासपोर्ट बनाउने सेवा घरदैलोबाटै लिन पाउने कार्यालयका कामु अधिकृत रामकृष्ण भण्डारीले बताउनुभयो ।
नयाँ भवन नबन्दासम्म साविकको रामपुर गाविसको भवनमा कार्यालय स्थापना गरी काम सुरु गरिने छ । रासस