९ असार २०७३, बिहीबार

म्याग्दी, असार । विगतका वर्षमा पानीका लागि पालो पर्खदा असार महिनाको अन्त्यतिर धान रोप्ने बाबियाचौर–८ का जीवन कार्कीले यसपालि तीन हप्ताअघि नै रोपाइँ सक्नुभयो ।

sinchai

पानीको स्रोत कम हुँदा पालो कुर्दा समयमै धान रोपाइँ र सिँचाइ गर्न नपाउने कार्की जस्तै रणवाङका कृषक यस वर्ष असार पहिलो हप्तादेखिनै रोपाइँमा व्यस्त छन् । धान, मकै, गहुँ बाली र तरकारी खेतीको पकेट क्षेत्र मानिने रणवाङमा यस वर्ष नयाँ सिँचाइ आयोजना निर्माण भएपछि सिँचाइका लागि पानी लगाउन पालो पर्खनुपर्ने समस्याको अत्य भएको हो ।

“सानो कुलोमा सीमित मात्रामा आउने पानी सिँचाइ र रोपाइँका लागि उपभोग गर्न पालो लगाउनुपर्ने अवस्था थियो,” कार्कीले भन्नुभयो– “नहरमा पर्याप्त मात्रामा पानी आउन थालेपछि समस्या टरेको छ ।” सिँचाइका लागि पानीको विषयमा समुदायमा झगडा र विवाद हुने समस्याको पनि अत्य भएको छ ।

सिँचाइ विकास सव डिभिजन कार्यालयमार्फत रु ८९ लाख २५ हजारको लागतमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो । उक्त आयोजनाबाट बाबियाचौर गाविस– ७ र ५ को ५५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । दरवाङ र बाबियाचौर गाविसको सिमानामा पर्ने दुखु खोलाबाट एक हजार ८६१ मिटर नहर र १८० मिटर पाइपलाइनमार्फत पानी ल्याएर रणवाङ, सहश्रधारा र पानाबगर क्षेत्रमा बाहै्र महिना सिँचाइ गर्न सकिने भएको छ ।

आयोजनाबाट १६० घरधुरी लाभान्वित भएको रणवाङ सिँचाइ आयोजना उपभोक्ता समितिका सचिव जीतेन्द्र पुनले बताउनुभयो । विसं २०४८ मा कच्ची नहर निर्माण भएको सो आयोजनाको ४४० मिटर क्षेत्र २०५७ सालमा पहिरोले बगाएपछि रणवाङमा सिँचाइको समस्या उत्पन्न भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV