काठमाडौँ, असार । सरकारले मुलुकमा भूमि सुधारका क्षेत्रलाई प्रभावकारी तथा कृषकलाई लाभ हासिल हुने गरी भूउपयोग नीति ल्याउने भएको छ ।
रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले केही वर्ष अगाडि खाद्यान्न निर्यात गर्ने मुलुक नेपालले राष्ट्रिय उत्पादनमा प्रगति गर्न नसक्दा उत्पादन घटी परनिर्भरता बढेको बताउँदै त्यसलाई न्यूनीकरण गर्न उक्त नीतिको महत्व रहने बताउनुभयो ।
भूमिको सदुपयोग नगरेका कारण राष्ट्रिय उत्पादनमा कमी आएकाले उक्त नीतिमा जमिन बाँझो राख्नेलाई दण्डित गर्ने व्यवस्था समेत गरिने बताउँदै उहाँले आगामी आवमा कैलाली, दार्चुला, हुम्ला, सुर्खेत, जाजरकोट र डोटीमा हलियामुक्त गरिने योजना पूरा गरिने र सुकुम्बासीका समस्या समाधान गरी तीन वर्षभित्र राष्ट्रलाई सुकुम्बासीविहीन बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले देशमा मुक्तकमैया घोषणा भएको करिब १६ वर्ष भए पनि उनीहरूको सुरक्षित जीवनको व्यवस्था हुन नसकेकाले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा विशेष व्यवस्थापन गरी पूर्ण रुपमा मुक्त गर्ने नीति रहेको जानकारी दिनुभयो । रासस (श्रब्य सामग्री उपलब्ध छ)