३ असार २०७३, शुक्रबार

कोदोको सेल रोटी, टिमुरको अचार, लोकल कुखुराको मासु अनि सिस्नुको खोले भन्दा कस्को पो मन थामिएला र ? यि परम्परागत शैलीका खानाहरुले लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरिएको खाना मेलामा स्थान पाएका छन् ।

लमजुङमा शुक्रबारदेखि प्रथम खाद्य मेला शुरु भएको छ । मेला ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नको लागि आयोजना गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघको समन्वयमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले मेलाको आयोजना गरेको हो ।

पश्चिमाञ्चलका १६ जिल्लामा उत्पादन हुने स्थानीय उत्पादनलाई एकै थलोमा उपलब्ध गराई खाद्य पदार्थको प्रचार प्रसार गर्न मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । ‘परम्परागत स्थानीय पोषिला खाद्य पदार्थहरुको प्रवद्र्धन, पौष्टिक आहारका लागि खानेवानीमा परिवर्तन’ भन्ने मुल नारासहित सदरमुकाम बेसीशहरमा हुने खाद्य मेलामा अल्प प्रचलनमा रहेका स्थानीय कृषि उपजको परिकारहरु राखिएको छ । परम्परागत स्थानीय खानाको प्रवद्र्धन तथा विविधिकरणका लागि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका बरिष्ठ नियन्त्रण अधिकृत किशोर खत्रीले मेलाले ग्रामीण पर्यटनलाई समेत प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताउनुभएको छ । जिल्लामै पहिलो पटक खाद्य मेला हुन लागेको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । मेलाको लागि नेपाल सरकारले १० लाख रुपैया विनियोजन गरेको छ ।

बेसीशहरको फुलवारी खेल मैदानमा शुरु मेलामा ४० वटा स्टल रहेका छन् । दुई दिनसम्म हुने मेलामा २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा खाद्य प्रविधि तथा पोषण अध्ययन अनुसन्धान गर्ने संघ सस्थाको जानकारीमूलक प्रर्दशनी, खानेबानीमा परिवर्तनका लागि परम्परागत स्वच्छ तथा पोषिलो खाद्य पदार्थबारे गोष्ठि तथा छलफल गरिने बताइएको छ ।

 

LIVE TV