३ असार २०७३, शुक्रबार

कैलाश मानासरोवर तीर्थयात्राबाट फर्केका भारतीय तीर्थयात्रीले रनवेमा अवरोध पुर्याउँदा सुर्खेत विमानस्थल शुक्रबार साढे दुई घण्टा ठप्प भएको छ । हुम्लाबाट नेपालगञ्ज विमानस्थलको बोडिङ पास दिएर सुर्खेतमा झारिएको भन्दै मानासरोवरबाट फर्किएका भारतीय तीर्थालुले रनवेमै सुतेर अवरोध गरेका थिए ।

भारतीय तीर्थयात्रुका कारण हुम्ला जाने र त्यहाँबाट आउने छ वटा उडान अवरुद्ध भए । रनवेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गर्नु पर्यो । सो क्रममा एक महिला प्रहरीसहित दुई तीर्थालु घाइते भए ।

शुक्रबार विहान हुम्लाको सिमीकोटबाट नेपालगञ्जका लागि भारतीय तीर्थयात्रु बोकेर उडेका गोमा एयरका दुई जहाज सुर्खेतमै रोकिएपछि विवाद सुरु भएको थियो । ट्राभल एजेन्ट र एयरलाइन्सको मिलेमतोमा नेपालगञ्जको बोडिङ पास दिएर सुर्खेत ल्याइएको तीर्थ यात्रुले बताएका छन् । जहाँको बोडिङ पास दिइएको हो, त्यही पुर्याउनु पर्यो भन्ने तिर्थ यात्रुको माग रहेको थियो ।

भारतीय तीर्थयात्रुहरुले विमानस्थलको रनवे अवरुद्ध पारेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरी जवान पार्तवी मल्ल घाइते भएकी थिइन । यस्तै केही तीर्थयात्रीहरु पनि घाइते भएका थिए । रनवेमै सुतेका तीर्थयात्रीहरुलाई प्रहरीले उचालेर बाहिर पठाएको थियो । नागरिक उड्डयन प्राधिकरण सुर्खेत शाखाका निमित्त निर्देशक छवीसिंह ठकुल्लाले एजेण्ट र एयरलाइन्सको कमजोरीले विमानस्थल अवरुद्ध हुन पुगेको बताउनु भयो ।

 

LIVE TV