३ असार २०७३, शुक्रबार

काठमाडौँ, मेलम्चीको पानी सुन्दरीजलमा आउनु अघि नै उपत्यकाका ग्राहकका धारामा समानुपातिक वितरण सञ्जाल निर्माण गरिसक्ने भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याउन २७ किमी लामो सुरुङ निर्माण भइरहेको छ । सुरुङ हाल १७ किमी खनिसकिएको र १० किमी खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सुरुङ खनी सुन्दरीजलसम्म पानी ल्याएर प्रशोधन केन्द्र बनाउने जिम्मेवारी समितिको हो । सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले बताउनुभयो ।

“थप आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माणका लागि परामर्शदाता छनोट सुरु भएको छ”–उहाँले भन्नुभयो ।

सुन्दरीजलबाट ग्राहकका धारासम्म पानी वितरणको जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ । निर्देशनालयले एसियाली विकास बैंकको ऋण सहयोगमा उपत्यकाको खानेपानीमा सुधार, ढल व्यवस्थापन र खानेपानी सरसफाइ आयोजना सञ्चालन गरेको निर्देशक तिरेशप्रसाद खत्रीले बताउनुभयो ।

“मेलम्चीको पानी सुन्दरीजलमा खसेर प्रशोधन भएपछि वितरणका लागि ल्याउन थोक वितरण प्रणाली अन्तर्गत चाबहिलसम्म ९.५ किमीमा एक हजार ४०० मिलिमिटर ब्यासको ठूलो पाइप बिच्छ््याइएको छ, पानी पोखरीसम्म पानी पु¥याउन बनाइएको लाइनलाई थोक वितरण प्रणाली भनिन्छ”–उहाँले भन्नुभयो ।

पानी आउनु अघि निर्देशनालयले ६८ किमी थोक र ६७० किमी ग्राहकको घरसम्म पुग्ने लाइन वितरण सञ्जाल बनाइसक्ने जनाएको छ । थोक प्रणालीबाट जाने पानी राख्न नौ स्थानमा पानीट्याङ्की निर्माण भइरहेको निर्देशनालयले जनाएको छ । आरुबारी, बाँसबारी (हेपाली हाइट), महाङ्कालचौर, थिमी (टिगनी), खुमलटार, महाराजगञ्ज (पानीपोखरी), बालाजु, कटुञ्जे (भक्तपुर) र कीर्तिपुरमा पानीट्याङ्की निर्माण भइरहेको छ ।
मेलम्चीबाट सुन्दरीजलमा झरेको पानी प्रशोधन गरेर ग्राहकका धारामा जाने प्रणाली निर्माण गरिए पनि बढी भएको पानी जम्मा गर्नका लागि पानीट्याङ्की निर्माण भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

“पानी वितरणका लागि थोक वितरण प्रणालीको ६८ किमीमध्ये २६ किमी र ग्राहकको धारासम्म पुग्ने ६७० किमीमध्ये हाल ३५२ किमी निर्माण सम्पन्न भइसकेको छ, भूकम्प र नाकाबन्दीले काममा असर गरे पनि मेलम्चीको पानी राजधानी आउनु अगावै वितरण प्रणाली बनिसक्छ”–उहाँले भन्नुभयो । वितरण सञ्जाल निर्माणका लागि बैंकको ६५ प्रतिशत र सरकारको ३५ प्रतिशत लगानी छ । कुल लागत ३०९ मिलियन अमेरिकी डलर अर्थात् करिब अनुमानित रु ३० अर्ब लाग्नेछ ।

ढल व्यवस्थापन 

उपत्यकामा ढल व्यवस्थापनको काम पनि निर्देशनालयले गर्ने भएको छ । गुह्येश्वरीस्थित अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको हाताभित्र थप एक करोड ६० लाख लिटर ढल मिसिएको पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिने छ । यसअघि समितिले नै त्यस ठाउँमा एक करोड ६० लाख लिटर ढल प्रशोधन केन्द्र निर्माण गरिसकेको छ ।

मनोहरा र हनुमन्ते नदीेस्थित दुबै किनारमा मुख्य ढल लाइन निर्माण गरिने पनि निर्देशनालयले जनाएको छ । घरबाटै ढलसम्बन्धी जानकारी लिन सकिने अत्याधुनिक प्रणाली स्थापना गर्न लागिएको निर्देशनालयका उपनिर्देशक अनिलभद्र खनालले बताउनुभयो ।

“उपत्यकामा बस्ती विस्तार भएकाले ढल प्रशोधन केन्द्र निर्माण गर्ने स्थान पाउन कठिन छ, खोकना र गोकर्णमा रहेको खाली जग्गालाई ढल प्रशोधन केन्द्र निर्माणका लागि अधिग्रहण गर्न सरकारसँग माग गरेका छौँ, ती जग्गा अन्य प्रयोजनका लागि दिन हामीलाई पनि दबाब आउने गरेको छ”–उहाँले भन्नुभयो ।

खोकनामा ३० करोड लिटर प्रशोधन गर्नसक्ने केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएको छ । अब निर्माण हुने केन्द्र वरिपरिको सौन्दर्य वृद्धि हुने गरी वातावरण मैत्री बनाउने निर्देशनालयको योजना छ । “गुह्येश्वरी र धोबीघाटमा निर्माण हुने केन्द्रबाट विद्युत् पनि निकालिने छ, गुह्येश्वरीबाट २४० र धोबीघाटबाट २०३ किलोवाट विद्युत् उत्पादन गर्ने गरी ढल व्यवस्थापन गरिनेछ” – उपनिर्देशक खनालले भन्नुभयो ।

उपत्यकामा ३३ ट्युबवेल 

उपत्यकामा मेलम्चीको पानी आउनुअघि खानेपानीको समस्या समाधानका लागि १३ ट्युबवेल निर्माण सम्पन्न भएको छ । ते¥ह ट्युबवेलबाट दैनिक डेढ करोड लिटर पानी आपूर्ति भइरहेको छ । नख्खु खोलामा इन्टेक निर्माण गरी थप पानी बढाइएको निर्देशनालयले जनाएको छ ।
उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत थप २० ट्युबवेल निर्माण गर्ने कार्यक्रम छ । उपत्यकामा वितरण गरिएको पानीको मुख्य प्रणालीमा असर परे ट्युबवेलको पानी वितरण गरिनेछ । ( तस्बिर र श्रव्य सामग्री संलग्न छ) रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV