३ असार २०७३, शुक्रबार

विश्व विजेता जर्मनीसँग पोल्याण्डको बराबरी, इंग्ल्याण्डले वेल्सलाई हरायो

युरो कप फुटबलमा समूह सी अन्तरगत बिहीबार राति भएको खेलमा युक्रेनलाई नर्दन आयरल्याण्डले २–० ले हराएको छ । नर्दन आयरल्याण्डका ग्यारेथ म्याकुलेले खेलको ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा नाइल म्यागिनले गोल गर्दै २–० को जित दिलाए । नर्दन आइरल्याण्डको यो ऐतिहासिक जित हो ।

नर्दन आयरल्याण्डको युरोपियन च्याम्पियनसिपमै यो पहिलो जित हो । युरो कपमा पहिलो जितसँगै नर्दन आयरल्याण्डले ३ अंक जोडेर अन्तिम १६ मा पर्ने सम्भावना कायम राखेको छ । आफ्नो पहिलो खेलमा १–० ले पोल्याण्डसँग हारेको नर्दन आयरल्याण्डले दोस्रो खेलमा चमत्कारी जित निकाल्यो ।

यसैगरी विहिवार राति नै भएको अर्को खेलमा विश्व विजेता जर्मनीले पोल्याण्डसँग गोल रहित बराबरी खेलेको छ । फ्रान्सको सेन्ट डेनिसमा भएको समूह सी अन्तरगतको खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । युरो कपको जारी संस्करणमा गोलरहित बराबरी भएको यो पहिलो पटक हो । बराबरीसँगै समूह सी मा रहेका यी दुवै टीमको समान चार अंक भएको छ । पोल्याण्ड र जर्मनीको गोलरहित बराबरीले समूह सी मा नै अंकविहीन रहेको युक्रेन समूह चरणबाटै बाहिरिएको छ ।

यसैगरी, डेनियल स्टुरेजले इन्जुरी समयमा गरेको गोलको मद्दतमा इंग्ल्याण्डले युरो कपको आफ्नो दोश्रो खेलमा वेल्सलाई हराएको छ । वेल्सलाई २–१ ले हराएको इंग्ल्याण्डले युरो कपको नक आउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV