२ असार २०७३, बिहीबार

 ग्यास व्यवसायीहरुको बढ्दो लापरवाहीप्रति सरकार कठोर कदम चाल्दै 

ग्याँस हरेक मानिसका लागि भान्साको सहज साथी हो । तर यसको सही प्रयोग हुन सकेन वा ग्याँस सिलिण्डरमै केही खराबी भइदियो भने यो बमजत्तिकै खतरनाक पनि हुन्छ । जेठ ७ गते हौगल ललितपुरमा एचपी ग्याँस पड्केर भएको दुर्घटनामा ३ जनाले ज्यान गुमाएपछि सरकारले एचपी ग्याँसको आयात तथा विक्री वितरणमै रोक लगाएर छानबिन सुरु गरेको छ ।

ललितपुर हौगलको यो घर, जहाँ तामा र पित्तलको गजुर लगायत मन्दिर र मानेमा प्रयोग हुने सामान बन्थे । तर जेठ ७ गते यही घरमा काम गर्दागर्दै एचपी ग्याँस पड्केर ३ जनाले ज्यान गुमाए । स्थानीय सुरेश ताम्राकारको यस घरमा ग्याँस पड्केर आगलागी हुँदा घरमा पनि क्षति पुग्यो र सुरेश ताम्राकार तथा ध्रुव ताम्राकार र जेठ २९ गते राति राजेश ताम्राकारको पनि उपचारका क्रममा मृत्यु भयो ।

त्यसपछि ग्याँस सिलिण्डरको छानबिन तथा पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले आन्दोलन सुरु गरे । त्यही बेला आपूर्ति विभागले ग्याँस सिलिण्डरको नमुना परीक्षण गरायो । र, सोमबार गुणस्तर तथा नापतौल विभागले सिलिण्डरको नमुना परीक्षण गरी आपूर्ति विभागलाई रिपोर्ट बुझाएपछि आपूर्ति मन्त्रालयले बुधबारदेखि एचपी ग्याँस आयातमा प्रतिबन्ध लगाएको हो ।

सिलिण्डरको मापदण्ड के हो ?

१४ दशमलब २ किलो ग्याँस भर्ने प्रयोजनका लागि बनाइने ग्याँस सिलिण्डरको मोटाई कम्तीमा सबै भागमा २ दशमलब ४ मिलमिटर हुनुपर्ने प्रावधान छ । सबै स्थानमा २ दशमलब ४ मिलिमिटर मोटाई हुनका लागि प्रयोग हुने पाता कम्तीमा २ दशमलब ९ मिलिमिटरको हुनुपर्ने हो । तर जेठ ७ गते पड्किएको एचपी ग्याँस सिलिण्डरको मोटाई कुनै भागमा २ दशमलब ८ एमएम त कुनै भागमा २ दशलमब शुन्य तीन एमएम छ ।

यसरी पड्किएपछि गरिएको नापमा फरकफरक नतिजा आएपछि एचपी ग्याँस शंकाको घेरामा पुगेको छ । पीडितहरुले पातलो र कमसल पाता प्रयोग गरेकाले पड्किएको भन्दै बिरोध गरीरिहेका छन् र एचपीका सबै ग्याँस सिलिण्डर परीक्षण गर्न तथा पीडितलाई क्षतिपूर्ति दिन माग गरिरहेका छन् ।

पीडितपक्षको आन्दोलन र नमुना परीक्षणका शंकास्पद नतिजा देखिएपछि बुधबार मन्त्रालयमा छलफल गरेर आपूर्तिमनत्री गणेशमान पुनले एचपी ग्याँसको आयात तथा विक्री वितरणमा रोक लगाएका हुन् । अब एचपी ग्याँसको बिस्तृत छानबिन गर्ने र त्यसपछि कस्तो प्रकृतिको कारवाही गर्ने भन्ने निर्णय हुनेछ ।

यता पीडित पक्ष र एचपी ग्याँस उद्योगसँग बिहीबार पनि क्षतिपूर्तिको विषयलाई लिएर भएको वार्ता निष्कर्षविहीन भएको छ । घाइतेको उपचारमा पनि ग्याँस उद्योगले वेवास्ता गरेकाले मृत्यु भएको भन्दै मृतकपक्षले कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

 

LIVE TV