२ असार २०७३, बिहीबार

भारत सरकारको सहयोगमा निर्माण शुरु गरिएको बर्दियाको सदरमुकाम गुलरिया देखि भुरिगाउँ सम्मको सडक निर्माण पुरा हुन नसके पछि अलपत्र परेको छ । भारत सरकारको तर्फबाट पाँच बर्ष पहिला निर्माण शुरु गरिएको हुलाकी सडकमा घाटा भएको देखाउँदै निर्माण पक्षले काम गर्न छाडे पछि बिगत दुई बर्ष देखि सडक निर्माण कार्य अलपत्र परेको हो ।

भारत सरकारको लगानीमा निर्माण शुरु गरिएको हुलाकी सडकको अवस्था झन पछि झन जिर्ण बन्दै गए पछि सदरमुकाम आवत जावत गर्ने स्थानिय बासिन्दाले सास्ती व्यहोर्नु परेको छ । बर्दिया जिल्लाको भुरीगाउँ देखि गुलरिया हुँदै भारतको मुर्तिहा सम्म पुग्नका लागि हुलाकी सडक अन्र्तगतको ३५. ५ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मामा भारत सरकारले राईट्स लिमिटेड परामर्शदाता सहित जि भि आर ईन्फ्रा प्रोजेक्टलाई जिम्मेवारी दिएको भए पनि विविध बहाना देखाई एक बर्ष पहिला भारत गएको जि वि आर कम्पनी अहिले सम्म पनि फिर्ता भएको छैन ।

सडक निर्माण कार्य अलपत्र भए पछि सदरमुकाम आवतजावत गर्ने एक दर्जन गाविस र दुई नगरपालिकाका करिव २ लाख स्थानीयवासीलाई धुलोले समेत हैरानी पार्ने गरेको र बर्षातको समयमा हिलोले समेत दुःख दिने गरेको गोला गाविसका स्थानीय राजेन्द्रप्रसाद धितालले बताउँनु हुन्छ ।

सडक निर्माण गर्न सरकारले उदासिनता देखाएको खण्डमा बर्षातको समयमा सदरमुकाम गुलरियाको यातायात सम्पर्क समेत बिच्छेद हुने स्थानीय बासिन्दा बताउँछन ।

भारतीय निर्माण कम्पनीले यति बेला सडक निर्माण कार्य छाडेका कारण अहिले  सडकमा आवत जावत गर्न समेत समस्या रहेको बबई बहुमुखी क्याम्पस गुलरियाका प्रमुख बिनोद अग्रवालले बताउँनु हुन्छ ।

बर्दिया जिल्लाको करिव ७० प्रतिशत भूभाग ओगटने सडक निर्माणमा सरकारले देखाएको उदासिनता कारण भारतीय निर्माण कम्पनी काममा नफर्किएको र बाँकेमा रहेको हुलाकी सडक निर्माण आयोजनाले समेत बेवास्ता गरेका कारण सडक निर्माण अलपत्र परेको स्थानीयवासीको गुनासो छ ।

 

LIVE TV