२ असार २०७३, बिहीबार

भारतीय माछाको अत्याधिक आयातले मोरङका माछा कृषकहरुले मुल्य नपाएको गुनासो गरेका छन् । पूर्वाञ्चलको प्रमुख माछाको थोक विक्री केन्द्र विराटनगरमा ७० प्रतिशत माछा भारतबाट आयात हुने गरेको छ ।

भारतबाट आयात गरिने माछामा ५ प्रतिशत कृषि विकास शुल्क लगाइने गरिएपनि माछाको मुल्य घटाएर ९० रुपैया प्रति केजी मात्र तोक्ने गरेकाले भारतीय माछा सस्तो हुने गर्दछ । यसले गर्दा स्थानीय माछाले बजार नपाउने गरेको गुनासो माछा कृषकहरुले गरेका छन् । माछा उत्पादन वृद्धिका लागि माछा कृषकहरुले जिउँदो माछा विक्री केन्द्र स्थापनाका गर्न यातायात साधन खरीदमा भन्सार छुट, कृषकलाई आवश्यक तालिम, दाना एवं भुरा आयातमा छुट दिन माग गरेका छन् ।

मोरङ जिल्लाको बबिया विर्ता, कसेनी, मझारे, दर्वेशा, रंगेली, हात्तिमुढा, बाहुनी, पथरी लगायत १७ गाविसमा माछा उत्पादन हुने गरेको छ । मोरङमा ५८५ हेक्टर पोखरीबाट बार्षिक २ हजार ४ सय मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । पछिल्लो तथ्यांक अनुसार पूर्वमा आर्थिक वर्ष ०७१÷७२ मा ४४ करोड ६० लाख रुपैया बराबरको माछा आयात भएको छ ।

जिल्ला कृषि विकास कार्यालय मोरङले माछापालन व्यवसायलाई कृषकहरु माझ लोकप्रिय बनाउन विशेष मत्स्यपालन कार्यक्रम संचालन गरिरहेको छ । तराईका जिल्लामा माछा उत्पादन गर्न पोखरी नै खन्नु पर्दैन । धानखेतमा पनि माछा उत्पादन गर्न सकिन्छ । सजिलै उत्पादन गर्न सकिने र बजार समेत अभाव नभएपनि माछा उत्पादन गर्न नसकिएका कारण भारतिय माछाले नेपाली बजार ओगटेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

 

 

LIVE TV